Shittalpati
होमस्टे र आर्थिक रुपान्तरण

नेपालमा पछिल्लो समय होमस्टेहरु फष्टाउँदै गएका छन् । ग्रामीण पर्यटन प्रवद्र्धन र आर्थिक रुपान्तरण गर्न होमस्टे महत्वपूर्ण माध्यम बन्ने गरेको छ । होमस्टे आफैमा व्यवसाय हो । पाहुनाले सित्तैमा खाँदैन । आफ्नै भान्सामा राखेर खुवाएको पाहुनाले पनि पैसा तिरेर जान्छ । कम आयस्रोत भएका गाउँलेलाई प्रत्यक्ष स्वरोजगारको माध्यम अहिले होमस्टे बन्दै गएको छ । होमस्टेमा स्थानीय स्तरमा उत्पादन भएका वस्तुको खपत हुन्छ ।

त्यसकारण स्थानीय उत्पादनले पनि बजार पाउन थाल्छ । यसबाट एकातर्फ होमस्टे सञ्चालकले लाभ प्राप्त गर्छन् भने अर्कोतर्फ तरकारी, पशुपालन, स्थानीय मौलिक वस्तु उत्पादन गर्ने व्यक्तिले पनि त्यसको लाभ पाइरहेका हुन्छन् । यस अर्थ पनि होमस्टे ग्रामीण भेगमा आम्दानीको एक महत्वपूर्ण माध्यम बनेको छ । ग्रामीण भेगसम्म पर्यटकको पहुँच बढ्न थाल्छ, तब लुकेर रहेका अन्य सम्पदाको खोजी पनि बढ्न थाल्छ । पर्यटकको उद्देश्य बिदा मनाउनु या मनोरञ्जन मात्र गर्नु नभएर स्वास्थ्य, वातावरण, मौलिक संस्कृति, जडीबुटी जस्ता क्षेत्रमा अध्ययन गर्नु पनि रहन्छ । ग्रामीण भेगमै बसेर अध्ययन अनुसन्धान गर्न चाहने विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि पनि होमस्टे महत्वपूर्ण माध्यम बन्दछ ।

ग्रामीण भेगका जनताले जीविकोपार्जनमा अपनाएका धेरै उपायकै आधारमा अहिलेका अत्याधुनिक मेसिनहरू बनेका हुन् । तर, अहिले ग्रामीण भेगबाट त्यस्ता मौलिक उत्पादन लोप हुन थालेका छन् । पछिल्लो समय कृषक समूह, स्कूल र कलेजबाट विद्यार्थीलाई सामूहिक रूपमा शैक्षिक भ्रमणमा लैजादा होमस्टेमा राख्ने प्रचलन छ । यसले हुर्कंदै गरेका भावी पुस्ताले पनि गाउँले जनजीवनलाई अनुभूति गर्ने मौका पाउँछन् । यो सकारात्मक पक्ष हो । आन्तरिक रूपमा एक ठाउँको व्यक्तिलाई अर्काे ठाउँमा घुमघामको बानी बसाल्न र बाह्य पर्यटकलाई विभिन्न संस्कृति, भेषभुषा, स्थानीय खानपानको सुविधा प्रदान गर्दै पटक–पटक नेपाल घुम्नका लागि होमस्टेले प्रत्यक्ष रूपमा अभिप्रेरित गर्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update