Shittalpati
नाग पञ्चमी र परम्परा

घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै आज नाग पञ्चमी देशभर मनाइँदै छ । यसदिन विशेषगरी नवनाग अनन्त, वासुकी, शेष, पद्यनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रङ्ग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुबो चढाई पूजा अर्चना गर्ने परम्परा छ । रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन रहेको छ । परम्परागत रुपमा हिन्दूहरुले मनाउने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै, अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउन्छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन्, त्यसरी नै विष ओकल्ने सर्पको पूजा गर्ने जाती हिन्दूधर्मीहरु नै हुन् । यसरी नाग पञ्चमी मनाउनुको महत्व प्रष्ट हुन्छ । प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिवासी हुन् भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका हिन्दूहरुले यहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्ट हुन्छ । पौराणिक साहित्यहरुमा शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरेको र भगवान् विष्णु क्षिर सागरमा शेष शैयामा शयन गरेको कथन छ । भगवान् शिवजीले नागपुजा देवताहरुको लागि पनि दुर्लभ पूजा भन्ने गरेको पाइन्छ । यमुना नदिमा बसेर कालीनागले जल विषाक्त बनाएको र भगवान श्रीकृष्णले काली नागलाई दमन गरेको हरिवंश पूराणमा उल्लेख छ । महाभारतको आदी पर्वमा तक्षक नागले डसेर राजा परिक्षितको मृत्यु भएपछि जन्मजेयले आफ्नो बाबुको मृत्युको बदला लिन सम्पूर्ण सर्प जातीको वंश विनासको लागि विशाल सर्पयज्ञ गरेका थिए । सम्पूर्ण सर्प जातीको नास हुने देखेपछि बासुकी नागले आफ्नी बहिनीको सहायता लिए । कथा अनुसार बासुकी नागका भान्जा आस्तिकले र ब्रम्हा ऋषीले राजा जन्मजेयलाई सम्झाई बुझाई प्रतिशोध नलिन आग्रह गरेपछि राजा जन्मजेयले विशाल सर्पयज्ञ रोकेको दिन पञ्चमी तिथी परेकाले यसै दिनको सम्झनामा नागपञ्चमी मनाउन थालिएको पौराणिक कथन रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update