Shittalpati
कोरोनाको त्रासले पाल्पामा रगत अभाव, विरामी जोखिममा

रामचन्द्र रायमाझी
पाल्पा । एक हप्ता अघि जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका ३९ वर्षका भिमबहादुर विष्ट नियमित जस्तै मृगौलाको डायलासिस गराउन लुम्बिनी मेडिकल कलेज प्रभास पुगे । अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त ‘ओ’ पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आतिएका आफन्तले रगतका लागि सबै तिर हारगुहार गरे । रक्तदाता कोही भेटिएनन् । कोरोनाका कारण अस्पताल पुगेर ब्लड दिन कोही पनि तयार नुहँदा आफन्त निराश थिए । अन्ततः निराश आफन्तले एनविआरको सहायता लिए । जिल्लामा क्रियाशील एनविआरका सदस्य युवराज दर्लामीले विष्टको आग्रहलाई सहश्र स्वीकार गर्दैै ब्लड दिन तयार भए । विष्टले रगत दिएपछि उनको ज्यान बच्यो । ‘रगत पाउन केही घण्टा मात्र ढिला भइदिएको भए तल माथि हुन सक्थ्यो,’ दर्दामीले भने । गत असार २४ गते पनि यस्तै अर्को घटना भयो । एपेण्डिसका कारण एलएमसीमा उपचार गराउन पुगेकी तानसेन ५ बतासेडाँडाकी ६५ वर्षकी चुनाकला रास्कोटीको शरिरमा रगत पातलो भएकाले ‘ए’ नेगेटीभ समूहको रगत ब्लड बैंकमा नभएपछि ल्याउन डाक्टरले आफन्तलाई आग्रह गरे । तर तीन दिनसम्म पनि आफन्तले आवश्यक रगत पाउन सकेनन् । चुनाकलाका छोरा दलबहादुर रास्कोटी भन्छन् ‘आमालाई भर्ना गरेको तीन दिन हुँदासम्म आवश्यक रगत पाउन सकिएन, सबैसँग रगतका लागि आग्रह गरे तर कहि कतैबाट पनि भएनन्, अन्तिममा सामाजिक सञ्जालमा रगत आवश्यक परेको जानकारी गराए र एनविआरका केही साथीहरुले सहयोग गर्ने आश्वासन दिएपछि मात्र बल्ल मन शान्त भयो ।’ आवश्यक रगत खोज्दा–खोज्दा निरास भएका रास्कोटी अन्ततः एनविआरका सदस्य तथा कर सेवा कार्यालयका कर अधिकृत सागर पोखरेलले रक्तदान गरेपछि भने खुसी भए । रगत नपाएर बिरामीको ज्यान जोखिममा परेको र आफन्तले तनाव र त्रास भोग्नुपरेको यि त केही प्रतिनिधि घटना मात्र हुन् ।

विश्वभर फैलिएको कोरोना भाइसरको जोखिमका कारण जिल्लामा रगतको अभाव हुँदा अधिकांश विरामी र आफ्नताले तनाव बेहोर्नु परेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण ठूला भेला सभा समारोहसहितका भिडभाड हुने कार्यक्रम नगर्न सरकारले निर्देशन दिएपछि जिल्लामा हुने गरेका रक्तदानका कार्यक्रमहरु रोकिएका छन् । जसले गर्दा रगतको अभाव भएको हो । कोरोना भाइरसको त्रासले गर्दा मानिसहरु रगतदान गर्न समेत डराएका छन् । विरामीका लागि रगत लिन जानेहरुलाई ब्लड बैंकहरुले रक्त दान गरेर मात्र लैजान भन्दै आएका छन् । ब्लड बैंकहरुका अनुसार शिविरहरु सुचारु हुन नपाउँदा अभाव बढेको हो । २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको निर्णयले शिविरहरु राम्ररी सञ्चालन हुन सकेका छैनन् । रक्तदान गर्नेहरु पनि रक्तदानका लागि उत्साही हुन सकेका छैनन् । रगतको अभाव भएपछि विरामीका आफन्त चिन्तित भएका छन् । केही दिनयता माग अनुसारको रगत पुर्‍याउन नसकिएको लुम्बिनी मेडिकल कलेज प्रभासमा रहेको ब्लड बैंकका इञ्चार्ज रविन्द्र शर्माले बताए । उनका अनुसार रगत संकलनको प्रमुख स्रोत सामूहिक रुपमा हुने रक्तदान कार्यक्रम हुन् । कोरोनाको त्रासले नियमित रक्तदानका कार्यक्रम बन्द भएपछि रगतको अभाव भएको उनले बताए । उनले भने ‘अहिले ब्लड बैंकमा रगत नै नभएकाले विरामीका आफन्तलाई आफै रगतको व्यवस्था मिलाउन भन्दै आएका छौं ।’ अहिले रक्तदाता स्वंयसेवी संस्थाले समेत रक्तदाता जुटाउन समस्या परेको बताएका छन् ।

कोरोना भाइसरको त्रासले मानिसहरु रक्तदानमा सहभागी नहुँदा माग अनुसारको रगत संकलन हुन नसकेको जिल्ला रेडक्रस शोसाईटीका कार्यक्रम संयोजक विनोद भारतीले बताए । उनले भने ‘जिल्लाका विभिन्न अस्पतालहरुबाट विरामीका आफन्तहरुले सम्पर्क गर्नुहुन्छ तर रगत संकलन हुन सकेको छैन, हामी आफै भोलेन्टियर पठाएरै भएपनि रगत उपलब्ध गराउँदै आएका छौं ।’ जिल्ला प्रशासनले सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध गरेपछि जिल्लामा आयोजना गर्न लागिएका रक्तदानका कार्यक्रम समेत स्थगित भएको उनले बताए । जिल्लामा रगत पर्याप्त मात्रमा नहुँदा विरामी र आफन्ता समस्यामा परेका छन् । जिल्लामा क्रियाशील रेडक्रस, एनविआर, रोट्याकका भोलेन्टियरबाट समस्यामा परेकाहरुलाई रगत दिर्दै आएपनि त्यो भने पर्याप्त नभएको जिल्लाका अस्पतालहरु बताउँछन् । रगत अभाव भएपछि रगत माग्न जानेलाई आफैँले रक्तदाता खोजेर आवश्यक रगत जुटाउन जिल्लाका अस्पतालहरुले आग्रह गर्दै आएका छन् । अस्पतालमा पुगेर रगत अभाव भएपछि अधिकांश विरामीहरुले हामीहरुलाई फोन गर्नुहुन्छ, एनविआरका सदस्य कमल ज्ञवाली भने । उनले भने ‘कोरोनाका कारण जिल्लामा रगत अभाव हुँदा हामीले सक्दो सहयोग गर्दै आएका छौं ।’

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update