Shittalpati
तानसेनका जात्रा :  सांस्कृतिक गाथा

सानो क्षेत्रफलमै प्रशस्त जैविक र सांस्कृतिक विविधता हुनु नेपालको विशिष्ट परिचय हो । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ । हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ । समयक्रममा  नेवा : समुदाय देशैभर छरिएर रहेका छन् । उनीहरु रहेका ठाउँमा बढीजसो जात्रापर्व, भोज र उत्सव हुने गर्छन् । पाल्पाको सदरमुकाम तानसेन पनि नेवार समुदाय भएको ठाउँ हो । यो आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो सांस्कृतिक सहरका रुपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो । तानसेनमा हुने जात्रा र संस्कृतिका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

तानसेनमा जनै पूर्णिमाको दिनदेखि दश दिनसम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकी निकालिन्छ । झ्यासी न्यासी झ्याई बाजा बजाउँदै, थोत्रो मादल ठटाउँदै, बोराको कपडा लगाई च्यातिएको छाता ओढ्दै, खाली लट्टाइले हावामा च·ा उडाउँदै, खेलौनाको बच्चा नचाउँदै, खाली ऐना देखाउँदै, विचित्र भेषभूषा लगाएका मानिसहरूले बजारको चोक–चोकमा गई हाँस्य व्यङग्य पाराले यमराजको सन्देश भनेर चुईंकी सुनाउँछन् । चुइँकीको अर्थ समाचार सम्प्रेषण गर्नु हो । यही दिन साँझ राती मृतकको सम्झनामा सम्बन्धित घर परिवारबाट कुनै सदस्य विरुपको भई थोत्रो टीन लतारेर बजार परिक्रमा गर्दछन् । चुइँकीको दिन गरिने क्रियाकलाप तानसेनको आफ्नै मौलिक साँस्कृतिक चलन हो ।

राजा प्रताप मल्लले काठमाडौंमा गाईजात्रा मनाउने चलन चलाएका थिए भने पाल्पामा काठमाडौंबाट आएका नेवार समुदायले तानसेनमा गाईजात्रा मनाउने चलन चलाएका हुन् । गाईजात्राको दिन विशेष गरी महिला मृतकको सम्झनामा काम्ले गाईका साथै जोगी, वासा, देवी देवताको स्वरुप बनाएर बजार घुमाइन्छ । निर्गुण भजन गाईन्छ । दरवारमा पुर्‍याइन्छ । दरवारमा पुर्‍याइनुको मतलव यसदिन यमराज दरवारमा बसेका हुन्छन् रे यसो गरिदा मृतकहरू सजिलै स्वर्ग जान्छन् भन्ने विश्वास छ । गाईजात्राको भोलिपल्ट रोपाई जात्रा देखाइन्छ । तानसेन बजारको सड़क, चोक, टुकडिखेल, दरवारमा असारे धान रोपिएको अभिनय गरिन्छ । रोपाई जात्रा कुनै वर्ष ५–६ वटा समेत हुन्छ भने कुनै वर्ष १–२ वटा मात्र हुन्छ । पल्चेबाजाको तालमा रोपाइँ गर्दै जात्रा समूहले यसरी गीत गाउँछन्  : असारे मासको दवदवे हिलो छि मलाई घिन लाग्यो पातली नानीलाई फरिया किन्दा छ विसे रिन लाग्यो रोपाई जात्राको भोलिपल्ट बाघ जात्रा पर्दछ । वाघको रुपमा सिगारिएको मान्छेलाई शिकारीहरूले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ । अचेल यो जात्रा हटाउन थालेकोले संरक्षण गर्नुपर्छ भन्ने जनगुनासो रहेको छ । यसैदिन श्रीनगरस्थित सिद्धि विनायक गणेश जात्रा र त्यसको भोलिपल्ट टक्सार टोलस्थित सूर्यविनायक गणेश जात्रा निकालिन्छ । अघिल्लो दिन जाग्राम बसी भोलिपल्ट बाजागाजाका साथ गणेशको मूर्तिलाई खाटमा राखी बजार घुमाइन्छ । तानसेन बजार भित्र छ ठाउँमा गणेशका मन्दिरहरू छन् । टक्सार गणेश जात्राको भोलिपल्ट भिमसेन टोलबाट भिमसेन जात्रा निकालिन्छ । भिमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् । शितलपाटीमा पनि एउटा भिमसेन मन्दिर छ । यसको जात्रा भने माघ महिनामा भीमा द्वादशीको दिन निकालिन्छ । तानसेन बजार भित्र मात्रै छ बटा भिमसेन मन्दिरहरू रहेका छन् । भिमसेन नेवारहरूका कूल देवता हुन् ।

भाद्र कृष्ण अष्टमीको दिन राती हुलाक चोकमा अस्थायी कृष्ण मन्दिर बनाई कृष्ण लिला देखाइन्छ । भोलिपल्ट कृष्ण जात्रा निकालिन्छ । यो कृष्ण जात्रा स्थानीय कृष्ण भक्तहरुले करीव तीस वर्ष अघि देखि मौलिक रुपमा मनाउन लागेका हुन् । कृष्णाष्टमीको दिन राती भगवती मन्दिरमा जाग्राम बसिन्छ । देवी भगवती र श्रीकृष्ण दिदी भाइ भएको पौराणिक कथन रहेको छ । भगवतीको मन्दिरमा जाग्राम बस्दा भजन गाइन्छ । मध्यराती साइत अनुसार विधिपूर्वक पूजा गरी भगवतीको प्रतिमूर्ति बाहिर ल्याई खटमा राखिन्छ ।  यहि क्रममा घण्टाकर्ण (गाँठेमंगल) को दिन जन्मेको लाखेलाई मध्यरातमा मारिन्छ । लाखे मार्नुको उद्देश्य दानव माथि देवीको जित हुनु र असत्य माथि सत्यको विजय हुनु हो । भोलिपल्ट अर्थात् भाद्र कृष्ण नवमीको दिन राष्ट्रिय अदबका साथ भगवती जात्रा निकालिन्छ । भगवती जात्राको दिन भगवती मन्दिरको साथै तानसेन बजार भरिनै मान्छेको भीड हुन्छ । कति मान्छेहरू घरको छत, बार्दली र झ्यालहरूमा समेत हुन्छन् । दिउँसो एक बजे बन्दुक पड्काएर जात्रा निकालिन्छ । पितलको सुन्दर खटलाई तीन पटक मन्दिर परिक्रमा गराइन्छ ।

नेपाली सेनाद्वारा सलामी अर्पण गरिन्छ । सैनिक, प्रहरी, प्रशासन, प्राध्यापक, शिक्षक, विद्यार्थी, व्यापारी, स्थानीयवासी, भक्तजन सम्पूर्णको ठूलो उपस्थिति रहन्छ । भगवतीको खटभित्र पूजारी बसेका हुन्छन् भने परम्परा अनुसार कुमाल समुदायका जवानहरूले खट बोक्छन् । भगवती जात्रालाई श्री ७ रणउजिरेश्वरी भगवतीको जात्रा भनिन्छ । यो जात्राको शुरुवात आजभन्दा दुईसय वर्ष अघि कर्णेल उजिरसिंह थापाले अंग्रेजलाई जितेको खुशीयालीमा मन्दिर बनाई जात्रा निकालिएको हो । यो जात्रा पाल्पालीहरुको मात्र नभई नेपालीहरूको राष्ट्रिय पर्व हो । भगवती जात्राको भोलिपल्ट नारायण जात्रा पर्दछ । नारायण जात्रा कुनै वर्ष भगवती जात्राकै दिन पर्दछ । विशेषः गरी भाद्र कृष्ण नवमीमा रोहिणी नक्षत्र परेको दिन यो जात्रा निकालिन्छ । यसरी पाल्पाको तानसेनमा दश दिनसम्म लगातार जात्रा हेर्न पाइन्छ । यसका साथै तिथि मिति अनुसार कालभैरव, वटुक भैरव, लक्ष्मी नारायण, हनुमान जात्राका साथै बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको अवसरमा बुद्ध जात्रा निकाल्छन् । यी सबै जात्राहरू हाम्रो इतिहास, संस्कृति र परम्परा हैनन्  पाल्पा तानसेनको गौरवशाली ऐतिहासिक सांस्कृतिक गाथाहरु समेत हुन् । (रेग्मी पाल्पा साहित्य समाजका अध्यक्ष र इतिहास संस्कृतिको पक्षमा कलम चलाउने लेखक समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update