
एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइने गरिन्छ । नेवार समुदायका मृतकका परिवारहरू गाईजात्रा निकाल्ने गर्दछन् । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्सेहरूले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ ।
नेवार भाषामा ‘सापारु’ भनिने यो पर्वको प्रारम्भिक कथा राजा प्रताप मल्लसँग जोडिएर आउँछ । पुत्र–शोकमा डुबेकी रानीलाई सान्त्वना दिन उनले आफ्नो राज्यमा रहेका मृतकका परिवारलाई नगरमा यात्रा आउन आग्रह गरे भन्ने कथा छ । यसो भए पनि गाईजात्राको इतिहास प्रताप मल्लभन्दा धेरै पुरानो रहेको इतिहासविद्ले दाबी गर्दै आएका छन् । गाइजात्राका दिन सडक नै व्यंग्यको खुलामञ्च बन्ने गर्दछ । असमानता, भ्रष्टाचार, अन्याय सबैलाई मजाकको पर्खालमा टाँसिन्छ । गाईजात्रा केवल दृश्य–श्रव्य उत्सव होइन, यो सांस्कृतिकको ऐना हो । यसमा मानिसका पीडा, हाँसो, सामूहिक स्मृति र बाँच्ने दृढता अटेका हुन्छन् । गाईजात्राले हामीलाई सम्झाउँछ जीवन एक क्षणभंगुर फूल हो, जुन आज फुल्छ, भोलि मर्छ । त्यो फूलको सुगन्ध स्मृतिको बगैंचामा सधैं रहिरहन्छ । मृत्यु अपरिहार्य छ तर स्मृति र मुस्कान अमर छन् । आँसुका थोपा र हाँसोका छालहरू एउटै नदीमा बगिरहेको देख्दा, लाग्छ– हामीले जीवनलाई यस्तै बाँच्नुपर्छ । शोकलाई सम्मानका साथ र हाँसोलाई निर्भीक हृदयका साथ । गाईजात्रा त्यसैको प्रतिक हो – जहाँ मृत्यु पनि जीवनको उत्सवमा घुलमिल हुन्छ र जीवन मृत्युको सत्यसँग हाँस्दै अगाडि बढ्छ ।