Shittalpati
आचारसंहिता उल्लङ्घन गर्नेलाई कारवाही गर

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन मिति जति जति नजिक आउँदैछ त्यति त्यति नै आचरसंहिता उल्लङ्घनका घटनाहरु बढ्दै गएका छन् । निर्वाचनलाई कसैले कहीबाट पनि प्रभाव पार्ने काम नहोस् भनेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ । तर पनि उल्लङ्घनका घटना रोकिन सकेका छैनन् ।

दल र उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न एक–अर्काप्रति आक्षेप लगाउने गरेका छन् । यो आचारसंहिता उल्लङ्घन हो । अहिले निर्वाचन प्रचारमा राष्ट्रिय झण्डाको दुरुपयोग, स्कुले बालबालिकाको प्रयोग, तोकिएकोभन्दा बढी रकम खर्च, एक–अर्कामाथि अशिष्ट टिप्पणी, झुटा आरोेप, ठूलो ब्यानरको प्रयोग, सरकारी स्रोतको दुरुपयोगजस्ता कार्यहरु समेत हुन थालेका छन् । आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले पत्र काटेर स्पष्टीकरण समेत मागेको छ । आयोगले स्पष्टीकरण मात्र सोध्ने कि कारबाही गर्ने ? भन्ने विषय अन्योल छ । आचारसंहिता विपरीत पर्चा, झण्डा, ब्यानर लगायतका सामग्रीहरुको प्रयोग हुन थालेको छ । कतै चर्का–चर्का आवाजमा गीत बजाउँदै प्रचारवाजी समेत भएको छ । निर्वाचन आयोगले सार्वजनिक पदमा आसीन हुने, यद्यपि दलका नेतृत्व पक्तिमा समेत रहेका केही नेताहरुलाई केवल सतर्क बनाउने, स्पष्टीकरण सोध्नेमात्रै काम गरिदा त्यसले समेत आचारसंहिता उल्लङ्घन गर्न प्रेरित गरिरहेको प्रतित हुन्छ । तडकभडक, दवाब र अनुचित प्रभाव लोकतान्त्रिक निर्वाचनमा हुनै हुँदैन । निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा नियामक निकायले उजुरीको प्रतीक्षा गर्नुभन्दा पनि स्वतन्त्र अनुगमन गरी सचेत गराउनु मुख्य दायित्व हो । उजुरी आउला र कारबाही गरौँला भनेर कुरेर बस्नु स्वाभाविक हुँदैन । जहाँ देख्यो त्यहीँ सचेत र कारबाहीको व्यवस्था गर्नुपर्छ । त्यसो भएपछि मात्र आयोगको कारबाहीको औचित्यता पुष्टि हुन सक्छ । आचारसंहिताको पालना अकाट्य छ। आयोगलाई सफल बनाउने दायित्व उम्मेदवार र दलहरूको पनि हो । यसर्थ स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन बनाउन सबै राजनीतिक दल र उम्मेदवारहरुले आचरसंहिता पालना गर्नुपर्छ र यदि कहि कतैबाट उल्लङ्घन भए तत्काल कारवाहीको दायरामा ल्याउन जरुरी छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update