Shittalpati
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन् त ?

यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन त ? यतिबेला सबैका मन मनमा यि प्रश्नहरु उब्जिएका छन् । प्रश्न उब्जिनु पनि स्वभाविक नै हो । विश्वरभर फैलिएको कोरोना महामारीले विश्व नै आक्रान्त छ । शैक्षिक संघसस्था, सार्वजिनिक यातायातहरु सबै ठप्प छन् । आमनागरिकहरुका कोरोनाको त्रास छ । यस्तो अवस्थामा रमाइलो र मनोरञ्जन गर्नु टाढाको विषय पनि हो । त्यसै त सरकारले यो अवधिमा धेरै मानिसहरु जम्मा हुने कुनै पनि धार्मिक कार्य नगर्नु भनेको छ हुन पनि हो नेपालमा कोरोना संक्रमितहरुको संख्या बढदै गईरहेको छ र यस्तो बेलामा जात्रा चाड पर्व नमाउनु नै राम्रो हो । यस्तो विषम परिस्थितिमा सतर्कता अपनाउनु नै उत्तम हुन्छ । यही कारणले पनि यसपाली काठमांडौ उपत्यकामा पनि शताब्दीयौं देखि हुने गरेका वा चल्दै आएका कुनै पनि जात्राहरु भएनन् । नेवार बस्ती भएको तानसेन बजारभित्र पनि परम्परागतदेखि नै विभिन्न जात्रा चाडपर्वहरु हुँदै आएका छन् । तर यसपाली ति जात्रा चाडपर्वहरु हुने कुनै संकेत आजसम्म देखिएको छैन ।

प्रत्येक वर्ष चैत्र महिनाको अन्तिम दिन टक्सार काल भैरवको र बैशाख महिनाको पहिलो दिन अमरगञ्जस्थित वटुक भैरवको जात्रा हुन्थ्यो यसपाली भएनन् । त्यस्तै बैशाख पूर्णिमामा पनि बुद्ध जात्रा भएन । श्रावन महिना लागे पछि तानसेनमा जात्राहरुको लर्को लाग्छ । पहिलो चाड घण्टाकर्ण गथामुग छिट्टै आउँदैछ । नेवारहरुको चाड खासमा गथामुगबाट शुरु हुन्छ भनिन्छ । यसपाली भदौ महिनामा हुने करिव सबै जात्राहरु श्रावण महिना भित्र नै परेका छन् । श्रावण ४ गते घण्टाकर्ण गथामुग परेको छ । यस दिन दिउँसो त्यति धेरै मानिसहरु एकै ठाउँमा जम्मा नभए पनि साँझपख घण्टाकर्ण सेलाउन जाने बेलामा मानिसहरुको जमघट हुन्छ । बौद्ध धर्मालम्वीहरुको गुँलाधर्म श्रावण ६ गतेदेखि प्रारम्भ हुँदैछ । महिना दिनसम्म हुने यो गुँलाधर्ममा प्रत्येक दिन विहान तानसेनस्थित बुद्ध विहारहरुमा बुद्ध भजन, शिल प्रार्थना, बुद्ध पूजा, भन्तेबाट प्रवचन आदि हुने गर्दछ । यस्को लागि बौद्ध तथा हिन्दू उपासक उपासिकाहरु विहारहरुमा विहानदेखि नै जम्मा हुने गर्दछन् । त्यसैले गुँलाधर्मको प्रक्रिया गर्न उचित भएन । श्रावण १० गते शनिबार नाग पञ्चमीका दिनसम्म आफ्ना–आफ्ना घरमा नागको चित्र टाँस्ने काम भएकाले यो हुन सक्दछ । श्रावण १९ गतेदेखि तानसेनमा गुनु पून्हि अर्थात नौ दिनको पूर्णिमा शुरु हुन्छ । यो नौ दिनसम्म विभिन्न चाडपर्व र जात्राहरु हुने गर्दछन । लगातार नौ दिनसम्म जात्रा मनाउने चलन यहीं तानसेनमा मात्र छ अरु कतै हुँदैन भएपनि एक दुई जात्राहरु मात्र हुन्छन् । गुनु पून्हीको पहिलो दिन रक्षा बन्धन जनै पूर्णिमा मन्दिरहरुमा गई वा आफ्ना घरैमा पनि धागो बाँध्ने दिन भएकाले यो हुन सक्छ । यसैदिन दिउँसो तानसेनमा चुँइकी निकालिने गरिन्छ । यो तानसेनको मौलिक चलन हो । अरु कही हुँदैन । चुँइकी यसलाई झयासी न्यासी पनि भनिन्छ । वास्तवमा सो वर्ष मृत भएका परिवारलाई गाईजात्राका दिन आफना मृतक सदस्यको सम्झनामा सक्कली वा नक्कली गाई, बासा, जोगी, निर्गुण, रामायण, भजन सहित यमराजको दरवारमा हाजिर हुनु भन्ने यमराजको सन्देश सम्प्रेषण गर्ने गरिन्छ । चुइकीका नाइकेले टोल–टोलको चोकचोकमा रोक्कि सन्देश सुनाउने गर्दछन् ।

यमराजको दरवार भन्दा तानसेन बजारको मध्य भागमा रहेको दरवारलाई यस गाइजात्राका दिन यमराजको दरवार मानिन्छ र सबै जात्राहरु यस भित्र प्रवेश गर्नै पर्दछ । भनिन्छ यस दिन मृत आत्माहरु यमराजको ढोका बाहिर पर्खेर बसेका हुन्छन् र ढोका खुले पछि मात्र भित्र प्रवेश गर्दछन् रे । विभिन्न हास्य भेषभूषामा करिब पन्ध्र बीस जनाको टोली यस चुंइकीमा सहभागी हुने गर्दछन् । धेरैजनाको सहभागिता हुने भएकाले यो चुइकी पनि गर्ने कुरै भएन । साँझपख मृतक घरबाट आफ्ना मृत सदस्यको यात्रा सफल होस् बाटोमा कुनै अवरोध नहोस् भनेर एकजना सदस्यले आफुलाई विरुप हुने गरी सिंगारी थोत्रा टीन लतार्दै बजार परिक्रमा गर्दछन् । योसम्म हुन सक्छ किनकी यसमा धेरैजनाको सहभागिता हुँदैन । अर्को दिन गाइजात्रा नै हो तर यो हुन सम्भव छैन । यस दिन बासा, जोगीसँग निर्गुण, रामायण भजन, सक्कली नक्कली गाई, ताहामचाले बजार परिक्रमा गर्दछन् । जात्रा हेर्न भनेर पनि नजिकैका गाउँ–गाउँबाट पनि मानिसहरु तानसेन बजारमा आउने गर्दछन् । बजारमा भीड लाग्दछ । त्यसैले गाइजात्रा गर्न सम्भव भएन । अर्को दिन रोपाइँ जात्रा गर्ने गरिन्छ । यसमा त झन रोपाइँ गर्ने समूह नै टन्नै सहभागी हुन्छन् । हाम्रा गाउँघरतिर यो वर्षाको बेला कसरी धान रोपाइँ गरिन्छ भन्ने एउटा प्रतिकात्मक दुष्य तानसेनको बजारमा प्रस्तुत गर्ने गरिन्छ । यो रोपाइँ जात्रा नजिकैका गाउँहरुबाट बजारमा ल्याउने गरिन्छ । यो पनि सम्भव भएन । अर्कोदिन बाघ जात्रा गर्ने दिन भएता पनि यो जात्रा नभएको धेरै भैसक्यो तर यसै दिन श्रीनगरस्थित श्री सिद्धि विनायक गणेशको जात्रा निकालिन्छ । जात्राको रथ दिउँसोतिर उठाइन्छ र नगर परिक्रमा गराइन्छ । यस्ता जात्राहरुमा धेरैजनाको सहभागिता हुने भएकाले यो जात्रा पनि सञ्चालन गर्न सम्भव नै हुँदैन । यस्तैगरी भोलिपल्ट टक्सारस्थित श्री सूर्य विनायक गणेशको जात्रा हुन्छ र अर्केा दिन भीमसेनटोलस्थित श्री भीमसेनको जात्रा हुन्छ ।

श्री कृष्ण जन्माष्टमीका दिन भगवती मन्दिरमा साँझपखदेखि भक्तालुहरुको भीड लाग्न थाल्छ । यस दिन राती श्री रणउजीरेश्वरी भगवतीको मन्दिर परिसरमा भजन किर्तन तथा श्री भगवती माताको पूजा हुन्छ । अर्को दिन पाल्पा जिल्लाको सबभन्दा ठूलो जात्रा श्री रणउजीरेश्वरी भगवतीको जात्रा हुन्छ । विहानदेखि तानसेन बजारमा मानिसहरुको चहलपहल शुरु हुन्छ । गाउँ–गाउबाट तथा नजिकैका जिल्लाहरुबाट समेत मानिसहरु यो जात्रा हेर्न आउँदछन् । यस दिन तानसेन बजार मानिसहरुको भीड छिचोलि नसक्नु हुन्छ । अर्को दिन या यही दिनमा अमरनारयण जात्रा पनि हुन्छ  । यसरी यो श्रावण महिना भरी जात्रा चाडपर्वहरु छन् । यसरी नौ दिनसम्म लगातार जात्राहरु हुने र मानिसहरुको भीड हुने भएकाले कुनै पनि जात्राहरु हुन सक्दैनन् । अहिले पनि एकातिर कोरोनाको कारण सबैलाई मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम गर्नु पर्ने भनिएता पनि यो नियम त्यसरी लागु भएको पाइदैन । मानिसहरु आफुखुसी हिडिरहेका छन् । ठाउँ–ठाउँमा मास्क नलगाई भेला भई गफ गरिरहेका हुन्छन् । अब यस्तो स्थितिमा झन् कसरी जात्रा सञ्चालन गर्न सकिएला र । त्यसैकारण पनि यसपाली जात्रा गर्न सम्भव नभएको बारे सम्बन्धित निकायहरु सबै चुप लागेर बसेका जस्ता देखिन्छन् । यस्ता जात्राहरु सञ्चालन गर्न एक दुई महिना अगि देखिनै तयारी शुरु गर्नु पर्ने हुन्छ तर यसपाली कसैले पनि तयारी गर्ने तिर पहल गरेका छैनन् । त्यसै त श्रावण महिना भगवान श्री भोलेनाथ शिवको महिना हो । महिलाहरुको लागि यो विशेष महिना हो । महिनाको शुरुको दिनदेखि नै भगवान शिवको पूजाआजा गर्ने, ब्रत बस्ने आदि गरिन्छ । महिना दिन पूरा ब्रत नबसे पनि प्रत्येक सोमबार शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्छ । तर कोरोनाको कारण मन्दिरमा भीड गर्न पनि भएन । त्यसैले मन्दिर जान पनि सतर्कता अपनाउनु पर्ने हुन्छ । अत यसरी सबै जात्रा चाडपर्व नहुने भएपछि विश्राम लिएकै त होला भन्नु पर्ला । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन्।)

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update