पाल्पा, तिहार भन्नेबित्तिकै घरआँगनमा गुञ्जिने देउसीभैलोका भाका, मादलका ताल र सामूहिक प्रस्तुतिको झल्को आउँछ । देउसीभैलो नेपाली समाजको मनोरञ्जनको माध्यम मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक लोकसंस्कृति र सामाजिक सद्भावको प्रतीक पनि हो । तर बदलिँदो समयसँगै यसको मौलिकता र परम्परागत शैलीमा परिवर्तन आउन थालेपछि यसको संरक्षण र पुस्तान्तरणको आवश्यकता झन् बढ्दै गएको छ । यही आवश्यकतालाई आत्मसात् गर्दै पाल्पाको बगनासकाली गाउँपालिकाले देउसीभैलो प्रतियोगितामार्फत मौलिक संस्कृतिको संरक्षणमा पहल गरेको छ । गाउँपालिकाले प्रतियोगिता नै आयोजना गरेर देउसीभैलोको मौलिकता संरक्षणमा पहल गरेको हो ।

मंगलबार पालिका परिसरमा तिहार विशेष देउसीभैलो प्रतियोगिता आयोजना गरिएको थियो । जसमा नौ वटै वडाका १३ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी समूहले आफ्ना मौलिक भाका, लोकलय र सांस्कृतिक प्रस्तुतिमार्फत तिहारको परम्परालाई जीवन्त बनाउने प्रयास गरेका थिए । देउसीभैलो प्रतियोगिता केवल मनोरञ्जनका लागि नभई गाउँपालिकाको मौलिक कला, भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । उनले स्थानीय स्तरमा रहेका प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई परम्परागत संस्कृतिसँग जोड्ने गाउँपालिकाको प्रयास रहेको उल्लेख गरिन् । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय संस्कृति र पहिचानको संरक्षणमा जोड दिइने उनको भनाइ थियो ।

प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका ज्ञवाली गैरेले एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले भाषा, कला र संस्कृतिको संरक्षणमा गाउँपालिकाले खेलेको भूमिकाको महत्वपूर्ण रहेको बताएकी थिइन् । उनले अन्य स्थानीय तहले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिन सके मौलिक संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने बताइन् । नयाँ पुस्तालाई समेत यस्ता गतिविधिमा सहभागी गराउन सके संस्कृति संरक्षणको अभियान थप प्रभावकारी हुने उनको भनाइ थियो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले गाउँपालिकाले दुर्गम क्षेत्रमा रहेका कलाकारहरूको प्रतिभा पहिचान गरी अगाडि बढाउन गरेको प्रयासको प्रशंसा गरे । गाउँ–गाउँमा लुकेर रहेका कला र प्रतिभालाई सार्वजनिक गर्ने अवसर यस्ता कार्यक्रमले प्रदान गर्ने उनले बताए । अध्यक्ष भट्टराईले आगामी मंसिर ६ गते रैनादेवी छहरा गाउँपालिकामा आयोजना हुने न्वागी महोत्सवमा सहभागी हुनसमेत निमन्त्रणा गरे । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले संस्कृति संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए । स्थानीय कला, भाषा र परम्पराको संरक्षणमा समुदाय, कलाकार र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।

प्रतियोगितामा बगनासकाली–३ टुटुङ देउसीभैलो समूह प्रथम ,लोकभजन चुड्का संरक्षण समूह पोखराथोक द्वितीय र प्रगतिशील महिला समूह खानीछाप मलेङ तृतीय भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी प्रदेश सदस्य कमल भट्टराईको जानकारी दिए । विजयी समूहले क्रमशः ३५ हजार, ३० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी अन्य सबै समूहलाई पनि जनही १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिएको कार्यक्रम संयोजक निशा पाण्डेले जानकारी दिइन् । यसैबीच, गाउँपालिकाले स्थानीय पुष्प व्यवसायमा संलग्न दुई व्यवसायीलाई समेत सम्मान गरेको छ । बगनासकाली–८ धारापानीका झविन्द्र बस्याल र बगनासकाली–२ पोखराथोकका श्रवणकुमार श्रेष्ठलाई जनही सात हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । स्थानीय स्तरमा पुष्प व्यवसायमार्फत योगदान पुर्याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा गाउँपालिकाले विभिन्न गतिविधिमार्फत सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए । उनले यस्ता कार्यक्रमले स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै समुदायबीच आपसी सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने धारणा राखे ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षता, प्रवक्ता टीकाबहादुर थापाको स्वागत, शिक्षा शाखा प्रमुख निशा पाण्डे र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश सदस्य कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय कलाकारलाई प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्रदान गरेको छ । पछिल्लो समय तिहारमा देउसीभैलो खेल्ने परम्परा मनोरञ्जन र औपचारिकतामा मात्र सीमित हुँदै गएको तथा मौलिक भाका, लय र प्रस्तुतिहरू ओझेलमा पर्न थालेको अवस्थामा स्थानीय तहबाट गरिएको यस्तो प्रयासलाई सांस्कृतिक संरक्षणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । विशेषगरी नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा, लोकभाका र सांस्कृतिक पहिचानसँग जोड्न प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



