पाल्पा, पशुपक्षीप्रति माया, संरक्षण र सम्मानको भावना विकास गर्ने उद्देश्यले आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व पशु दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर ४ तारिखमा मनाइने यस दिवसका अवसरमा पशु अधिकार, पशु कल्याण तथा संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ ।
हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ । सन् १९२५ अर्थात् लगभग ९३ बर्सअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम जनावर दिवस मनाएका हुन् । सन् १९२९ बाट औपचारिक रूपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा इटालियन सन्त फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यी सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ । पशुका अधिकार र तिनीहरुप्रति गरिने मानवीय व्यवहारका बारेमा विवेचना गरिनु यस दिवसको मुख्य उद्देश्य रहेको छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् जो हेर्न र देख्न पाउँदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीवजन्तुहरु हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । चाडपर्वका बेला होस् वा अन्य समयमा पशुपंक्षीहरुको आफ्नै महत्व रहेको हुन्छ । यिनीहरुको महत्व आफैमा विशिष्ट छ । कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको विश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषित गरिदिएको छ । हामी मध्ये हरेक मानिसले जनावरहरुको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्री हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।
जनावरलाई खाना, वस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा बुझ्न जरुरी छ । पशु चिकित्सक तथा अधिकारकर्मीहरूले पशुपक्षीप्रति हुने क्रूर व्यवहार अन्त्य गर्दै उनीहरूको स्वास्थ्य र कल्याणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । घरपालुवा जनावर पाल्ने व्यक्तिले नियमित स्वास्थ्य परीक्षण, उचित खानपान र सुरक्षित वातावरणको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । विश्व पशु दिवसले मानिस र पशुपक्षीबीचको सम्बन्धलाई अझ जिम्मेवार र मानवीय बनाउन तथा जैविक विविधता र वातावरण संरक्षणमा पशुपक्षीको भूमिकाबारे जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


