पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तीन जनाको सवारी दुर्घटना र पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।
धनुषा, सुनसरी, रौतहट, तनहुँ, रूपन्देही, सिन्धुली, रोल्पा र ताप्लेजुङमा भएका घटनामा आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवी मन्दिर अगाडि सडकमा टिपरको ठक्करबाट एक पैदलयात्री मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरको ठक्करबाट महोत्तरी लोहारपट्टी नगरपालिका–३ बस्ने रामनाथ रामकी छोरी अन्दाजी ४ वर्षीया नैनसि रामको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राम जानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । श्याम चोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को.३५ प ४११५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै रौतहटको गौर नगरपालिका–९ सिरसियास्थित सडकमा गौरबाट हजमिनियातर्फ जाँदै गरेको बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्वोत्तम अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ रानीगन्जस्थित तिनाउ खोलामा एक जनाको शव फेला परेको छ । उपमहानगरपालिका–३ चिडिया खोला संघर्ष टोल बस्ने ३२ वर्षीय यम बहादुर पहराई मृत अवस्थामा फेला परेका हुन् । यस्तै तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादी दुर्गा मन्दिरस्थित गुणादी खोलामा ऋषिङ्ग गाउँपालिका–१ सेताङ बस्ने ५७ वर्षीय तुल बहादुर लुङगेली मगर पनि मृत अवस्थामा फेला परेका छन् । उता सिन्धुलीको कमलामाई नगरपालिका–१२ तोरीश्वारा बस्ने ५९ वर्षीय मोहन बहादुर खड्का सोही नगरपालिका–७ थाक्ले फेदीस्थित सडकमा मृत अवस्थामा फेला परेका छन् । यस्तै रोल्पाको सुनछहरी गाउँपालिका–२ गुवाखोला नजिकै जंगलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष पनि मृत अवस्थामा फेला परेका छन् । यस्तै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ तारबोटे बस्ने ४३ वर्षीय राज कुमार चङ्सु सोही ठाउँस्थित गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका छन् ।


