Shittalpati
कृषि क्षेत्र र लकडाउनको प्रभाव

विश्वभर फैलिएको कोरोना महामारीका कारण कृषि क्षेत्र समेत प्रभावित बनेको छ । नेपालको अर्थतन्त्रमा बन्द हड्ताल नयाँ अनुभूतीजन्य विषय नभएता पनि सरकार आफैले गरेको लकडाउनको अनुभव भने नयाँ अभ्यास हो । यो अभ्यासले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा ठूलै असर पारेको छ । देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २७.४ प्रतिशत छ । कृषि बाहेक अन्य क्षेत्रहरु उद्योग, पर्यटन व्यवसाय र रेमिट्यान्सबाट राज्यकोषमा हुने योगदान पनि उल्लेख्य छ । यो क्षेत्रहरु समेत लकडाउनको कारणले गिरावट आउने हुँदा कृषि क्षेत्रको उत्थान अति आवश्यक भएको छ । यस क्षेत्रमा कुल जनसख्याको ६०.४ प्रतिशत जनता आश्रित छ । तर देशमा अहिले पनि खाद्यान्न उत्पादन पर्याप्त छैन । यो कुरालाई विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा रही आएबाट पुष्टि हुन्छ । कृषिमा निर्भर ठूलै संख्या लकडाउनका कारण समस्यामा परेको छ ।

नेपालमा गरिएको लकडाउनले बामे सर्दै गरेको कृषि क्षेत्र धरासायी हुने संकेत देखिन्छ । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि धेरै कार्यक्रम ठप्प भएका छन् । पाल्पामा पनि बन्दाबन्दीका कारण कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित कार्यक्रमहरु प्रभावित भए । बन्दाबन्दीले केन्द्रको चालु आर्थिक वर्षको अधिकांश स्विकृत कार्यक्रमहरु हुन सकेनन् । कृषि क्षेत्रको विकासका लागि केन्द्रलाई प्राप्त रकम मध्ये करिव ३० प्रतिशत रकमको कार्यक्रम प्रभावित भएको छ । त्यत्ति मात्र होइन खाद्यान्नको अभाव समेत हुने निश्चित प्रायः छ । लकडाउनको अवधिमा खाद्य बजार खुला रहेको भएता पनि, खाद्य मूल्य बढेको छ । तरकारीहरू लकडाउन अघिभन्दा दुई गुणा बेढेको देखिन्छ । दूग्ध र कुखुरा उत्पादनले पनि बजार र वितरणको समस्या झेल्दै आएको छ । तसर्थ सरकारले लकडाउनका कारण प्रभावित बनेको कृषि क्षेत्रको विकासका लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update