पाल्पा, नेपालमा ९ देखि ११ असोज सम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह हुन् ।
मौसमविद्हरूले हुन सक्ने निरन्तर वर्षाका कारण बाढी÷पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिन्छ । यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै गएको छ । ‘पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ महाशाखाका मौसमविद् हरिप्रसाद ढकालले भने, ‘अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना गण्डकी र लुम्बिनी प्रदेशमा छ, त्यसैले सतर्कता अपनाऔँ ।’।वभागले सर्वसाधारण र सरोकारवालाका लागि सम्भावित मौसमी विपत्तिबारे विशेष बुलेटिन समेत पनि जारी गरेको छ । साथै हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ, जसको अर्थ पूर्वतयारी गर्नु भन्ने हो । बुलेटिनअनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
जोखिमप्रति यस्तो छ सरकारको तयारी
सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ । देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो । जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गर्ने छ । समुन्द्रमा बन्ने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ । पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गहरूमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ ।
यस्तै, वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ । प्राधिकरणले बाढीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ । बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गरे । हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ ।


