Shittalpati
गुल्मी पहिरो र स्थलगत अध्ययन

भगत सिंह खड्का

असार १८ गते गुल्मीको इस्मा गाउँपालिका १ मा घटेको घटना विश्वभर नै सनसनी भयो । सूचना र प्रविधिको विकासका कारण त्यहाँ घटेको घटनाबाट साहेद कोही पनि अनविज्ञय भएनौ । अविरल वर्षका पहिरो जाँदा त्यस क्षेत्रका दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । उक्त पहिरोका कारण दर्जानौ घरहरु समेत जोखिमका छन् । यही घटनाको सेरोफेरोमा रहेर गरेको स्थलगत अध्ययनका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

पहिरोले हस्तिचौरको धर्ती छिया–छिया पार्‍यो । सामाजिक सञ्जालमा देखिने तस्वीरहरू हृदयविदारक थिए । त्यहाँ पुग्ने ईच्छा तिब्र बन्यो । अर्को दिन १९ गते जान सम्भव भएन् । २० गते नेपाली काँग्रेस गुल्मीको तर्फबाट जिल्ला सचिव खिलध्वज पन्थी, प्रदेश निर्वाचन क्षेत्र सभापति पूर्ण केसी र नेपाल प्रेस यूनियनका जिल्ला सचिव रमेश विश्वकर्मा सहित त्यसतर्फ लाग्यौ । हस्तिचौरको बाघखोर पुगेपछि वडाध्यक्ष चुराबहादुर खत्री, आदरणीय मिनबहादुर कुँवर सर, वैकुण्ठ बहादुर कुँवर जी र बालकृष्ण अर्याल पूर्ववत सल्लाह अनुसार हामीसँग जोडिनु भयो । मल्दीको सारूटोल हुँदै निस्ती झरेर फर्किदा जुकेपानी र तोरीखर्क अवलोकन गर्ने योजना बन्यो । मुसिकोटतर्फ अर्को पल्ट पुग्ने सल्लाह भयो । करीब १ किमी मोटरबाटो हिडेपछि सग्ला बाटा भेटिएनन् । पहिरो भएर नै हिड्न पर्ने रहेछ । धन्न पत्रकार साथीहरू जनार्दन घिमिरे, टोपलाल अर्याल र मोहन बस्नेतको टोली बेलैमा भेटियो । वँहाहरू फर्कदै हुनुहुन्थ्यो । पहिरोको हिलोको खातमा कुनाबाट जान सुझाउनु भएछ झण्डै । त्यही पनि हामी जाँदा घुँडासम्म गाडियो । कही त झण्डै कम्मरसम्म । सारूटोलबाट तल जान सकिन्न । नजानुहोला पनि भन्नु भयो पत्रकार साथीहरूले ।

सारूटोल पुग्दा दृश्य विभत्स थियो । मरेको भैंसी गाड्दै थिए स्थानीयहरू । भैंसी ब्याउनी रहेछ । देख्दा साह्रै मन कुँडियो । वैकुण्ठ जीले भैंसी गाड्न मद्दत गर्नु भयो । त्यसपछि पहिरो हेर्न थाल्यौं । ठूलो पहिरो २ वटा घरलाई बीच पारेर झरेको रहेछ । बङ्गालो पहिरोले बगाएको रे । त्यसको नामो निशान कतै देखिने थिएन । त्यही सुतेका बसन्त सारू र उनकी श्रीमती सिर्जनाले आफ्नो १८ महिने छोरा सिजन सारू गुमाएको ठाँउ । सारू दम्पत्ती अहिले काठमाडौंमा उपचाररत हुनुहुन्छ । बसन्तकी आमा कमला सारू घरमा सुतेकाले सुरक्षित रहनु भएछ । उहाँले घटना बताउनुभयो, “पानी गाग्रीबाट खनाए झैं झरेथ्यो । बिजुली चम्किदा घर नै हल्लाए झैं भथ्यो । घरको छेंउमा निक्लेर चिच्चाई चिच्चाई बोलाए । के सुनिन्थ्यो र त्यस्तामा, एक्कासी बड्यांग ग¥यो । पहिरो आएछ । बुहारीले चिच्चाएर एकैपल्ट हो आमा भनी । मेरो होस गुम्यो । पल्तिर जेठाजुलाई बोलाउन गए । पारी तिरका अरूलाई बोलाए तर फर्केर तिनलाई निकाल्न आउन सकिएन । कती घण्टा पछि निक्लेका हुन घर्सिदै घरसम्म आएछन् । नातीको बिचरा अर्को दिन पहिरोले च्याँपेको खाटमुनी लाश भेटियो । नाती त गयो । उनीहरू बाँच्ने हुन हैनन् ।” “अर्की एउटी आमाले मलहम लाउँदै भन्नु भयो, “चिन्ता नलेउ भो । झाल बचेको छ । बतिला फेरि लाग्छ ।” उहाँहरूका अनुसार राति १२ः३० तिरको घटना रहेछ । कठै ! मध्यरातमा प्रकृतिको निर्दयी रूप । त्यसपछि स्थानीय युवाहरूसँगै गाउँको अवलोकन गर्दै झर्‍यौ । कसैको घर झुण्डिएको, कसैको गोठ छैन त कसैको पहिरोले च्यापेको छ । बारीका सबै मकै पहिरोसँगै हराएका छन् । कमै घर बाँकी होलान् क्षतिबाट । किसानले हलो जोतेर लेड्को लाउने खेतबारी पहिरोले छियाछिया बनाएको छ । बारीहरू पनि छिया–छिया छन् । पोतिएका छन् पहिरोको हिलोले । हामी पहिरोको छेउ–छेउ झर्‍यौ । २०/२० मिटरको दूरीमा पहिरोको जालो । १०० मिटर हिड्ने सग्लो बाटो भेटिएन कतै । ओहो ! खेतहरू तिर झन् विकराल अवस्था । झन् ठूला, झन लामा पहिराहरू ! जुकेपानीबाट झरेका पहिराका शीर, पाउमा निस्ती बारीका खेत पुरै पोतिएका । ८ वर्षिया भूमिका (अपेक्षा) खत्रीले पहिरोमा पुरिएर ज्यान गुमाएको ठाउँ अवलोकन गर्‍यौं । उनकी आमालाई पहिरोले बाँसघारीमा लगेर च्यापेछ । वहाँका श्रीमान् रामु खत्री नेपाली सेनामा कार्यरत हुनु हुँदो रहेछ । छोरी गुमाएको चोट ! श्रीमतीको अवस्था ! आफ्नी जीवन/संगिनीको उपचारका लागि नेपाली सेनामा हेलिकप्टर पठाउन निवेदन दिनु भएछ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारीको सिफारिसमा गृह मन्त्रालयले हेलिकप्टर पठाएको हामीलाई तम्घास फर्केपछि प्र.जि.अ.ले बताउनुभयो । “बिचरा घाँटीसम्म पुरिएकी थिइन् । रातभरी गुहार मागिन् । बिहान साढे ४ बजे बल्ल उनलाई त्यहाँबाट निकालियो । “स्थानीय जमुना महतले भन्नुभयो । उहाँको घरको अवस्था पनि हृदयविदारक ! दाँयातर्फ लामो पहिरोले घर च्याँपेको । त्यो पहिरो गएपछि बायाँतर्फ गोठ तिरबाट भाग्न खोज्दा त्यता पनि रूखहरू नाच्दै पहिरो गएछ । “भगवान भरोसा त्यही बीचमा रात बिताइम ।’’ वहाँका छोरा बसन्त महतले भन्नु भयो । वहाँले थप्नु भयो । ‘‘बाख्रा झारिम तल । भैंसी त्यहीं छ अझै । अहिले सकिन्न झार्न । बाँचेछ भने झार्न होला पछि ।” त्यहाँबाट बायाँतर्फ ढाँड खोलाको रौं रूप देखियो । पहिला मुस्किलले २ मिटर चौडा खोलाले भिमनाथ घिमिरे र उनका पछाडीको घर डुबानमा । थोरै अघि बढ्दा अकल्पनीय ढंगले राम बहादुर केसीको आँगनलाई समेत खोलाले बगर बनाएछ । ईन्टरलक ईट्टाको उद्योग, त्यसको मेशिन, माछा पोखरी जादु जस्तै गायव । सवारी साधनहरू सबै डुबेका, गडेका । घरको तल्लो तलामा पुरै खोला । मरेका चौपाया निकाल्ने उपाय नै नदेखिने । बिचरा आफ्नो चिन्ता थिएन केसी दम्पत्तीलाई । “हामीलाई केही चाहिएन बरू तिनी माथिका गाँउलेलाई कहाँ बसाल्ने बिचरा । हामीभन्दा समस्यामा छन् । पिउने पानी छैन । बाल्न बिजुली छैन । “राम बहादुर के.सी.ले बताउनुभयो । त्यसैमा अनिसा के.सी.ले थप्नु भयो, “यहाँ प्रमुख समस्या खानेपानीको हो । हिजो त पानी नभएर तिर्खा मेट्न परको पसलमा कोक रहिछ । त्यही किनेर घाँटी भिजाइम ।”

त्यतिकैमा ४ जना स्थानीयहरु आउनुभयो । थकित देखिनु हुन्थ्यो । हातमा एउटा पाइण्ट थियो । उहाँहरू बाढीमा बेपत्ता मुसिकोट निवासी भागिरथ घिमिरेको खोजीमा रातडाँडासम्म पुगेर आउनु भएको रहेछ । एकजनाले बडो निराश हुँदै भन्नु भयो,“दाजु भाईको कर्तव्य पूरा गर्न परो । तलसम्म गएर आइयो । खै यही पाइण्ट भेटियो । अरू केही मेसो पाइएन । अन्ततः सेना पुलिस पनि खोज्न गएको सुन्थिम ।” हेलीकप्टरद्वारा तम्घासबाट ल्याइएको ८ क्विन्टल चामल मोती सरको घरमा राखेर राहत स्वरूप बाँडिदै थियो । थुप्रै जना त्यहाँ जम्मा हुनु भएको रहेछ । अधिकांश महिलाहरूले १०/१० किलो चामल बोकेर लैजाँदै थिए कोही भन्दै थिए, “चाहिएन यो चामल, हाम्रो अवस्था के छ हेर्न पनि नआउने ¤ खै गाँउपालिका अध्यक्ष र उपाध्यक्ष ?’’ वडाध्यक्ष चुरा बहादुर खत्रीलाई आक्रोश पोखे स्थानीयले । अझै केहीले त बाँचिम कि मरिम हेर्न आउनु भएको हो भन्दै थिए । स्थानीय सरकारबाट ठूलो आशा रहेछ बिचराहरूको । सांसद र सिडिओ हेलिकप्टरमा आएर स्थलगत घर–घर अवलोकन नगरेकोमा समेत खेद प्रकट गर्दै थिए । मर्ने त बिचरा मरी हाले । हामी बाँच्ने कस्तामा छम् । त्यतिसम्म हेर्न आएनन् तिनीहरू भन्दै थिए । त्यहाँ धेरै बेर छलफलपछि हामी जुकेपानी तिरको उकालो लाग्यौ । घर–घर पस्दै हेर्दै । अवस्था उस्तै नाजुक ! घर त छन् । आँगन छैन । कुनै घर त ३ तिरबाट पहिरोले झुण्डाएको । काँक्राका चिरा जस्ता पहिरा । क्षतिबाट जोगिएको कुनै एउटा घर पनि भेटिएन । वडाध्यक्ष बिरामी मान्छे । त्यो उकालो मुस्किलले निक्लिनु भयो । करीब डेढ घण्टा पछि जुकेपानीको शिरमा पुगेर तलका बस्ती हेर्दै लामो श्वास फेरेर आँखा भरी आँसु सँगालेर वडाध्यक्षले भन्नुभयो, कठै के को नजर लाग्यो यो १ नं वाडलाई । अब कहाँ बस्ने यी जनता ? निष्ठुरी दैव ।

भिरको बाटो माथि उक्लिदै जाँदा तोरीखर्क पुगेर हेर्दा रौं जिरिङ्ग भए । निस्ती र तोरीखर्कमा फरक यत्ती थियो । निस्ती फेंद थियो भयो तोरीखर्क पहिरोको उदगम । कहाँली लाग्दो ७ः३० बजेको दृश्य ¤ यसो सोंचे धर्तीसँग के रीस हो आकाशको ! यस्तो छिया–छिया पारेको किन ? आकाश र धर्तीको तालमेल, वर्षा र जमिनको संयोजनद्वारा मानव लगायत सम्पूर्ण चराचर जगतको जीवन सम्भव भएको तथ्यलाई आकाशले बिर्सेछ । वर्षाले भुलेछ । किसानको हलोले जोत्न पर्ने धर्ती आज पहिरोले चिरेको अनि पोतेको ¤ मलाई वास्तवमा यो अनुभव त्यती बाँड्न मन थिएन् हजुरहरू माझ। तर विगतका विपत र अहिलेको परिस्थिति तुलना गरे । दजाकोटको आगलागी र सत्यवतीको पहिरो सम्झें । सब गुल्मेली, सब नेपाली हातेमालो गरेर राहत र पुनर्बासमा खटिएको र जोडिएको । त्यो मानवीयता, त्यो एकता र तत्परता यो पाली देखिएन । राहतमा प्रवासी दाजुभाई र दिदीबहिनी जती स्वदेशी तातेको देख्दिन । मानवीय क्षति कम सुनेर हाम्रो दृष्टिमा यो विपत सानो लागे होला धेरैलाई भन्ने सोचें मेलै । करिब १ सय १८ घरधुरी मध्ये मुस्किलले ५ वटा सुरक्षित होलान् नत्र सबै त्रासमा छन् । अब पानी पर्दा बस्ने ठाउँको चिन्ता छ । स्थानीय सरकारले पीडितलाई हिमालय माविमा बस्ने व्यवस्था त मिलाएको छ तर यो बाहेक स्थानीय सरकारले अरु कुनै योजना बनाउन सकेको छैन । सारूटोल र माथिल्ला मल्दीवासी त्यहाँ रातीमा जान्छन् । वस्तुभाउको मायाले दिउँसो घरतिरै जान्छन् । तलका पीडितहरुलाई हिमालय मावि टाढा भएकाले आफन्तको मै तल बसेका छन् । माथि तर्फका पीडितकहाँ बाटो खुलाउन अलि समय नै लाग्ने देखिन्छ । तर निस्ती पुग्ने भञ्ज्या·को बाटो खोल्न लगभग १ दिनमै सजिलै सकिने काम हो । उदेकलाग्दो पक्ष पहिरो गएको आज ५ दिन हुँदासम्म पनि त्यो बाटो खुलाउने तर्फ कसैको ध्यान जान सकेको छैन । २ वटा डोजर त्यही खडा छन् तर जिल्लाको विपद् व्यवस्थापन प्रभावकारी नहुँदा जनतालाई पीडा थपिएको छ । पिउने पानीको अभाव, त्यसै माथि मरेका चौपायाहरूको दुर्गन्ध । सशस्त्र प्रहरीको काम के हो ? बाटो खन्न प्रयोग गरिने, औषधी किन्न अघि सारिने सेना लाश र १९ गतेको उद्दार लाई मात्रै ! अब पहिरो पीडितहरुका लागि तत्कालै पुनर्वासमा व्यवस्था गर्न जरुरी छ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिन जरुरी छ ।

तत्कालै पहिरो प्रभावित क्षेत्रमा गर्नुपर्ने कामका लागि आवश्यक सुझावहरु यहाँ प्रस्तुत गरिएको छ ।
१) अविलम्ब पिउने पानीको प्रबन्ध मिलाइनु पर्छ ।
२)मुसिकोट न.पा.को भञ्ज्याङ्ग तर्फबाट निस्तीसम्मको बाटो सुचारू गर्नुपर्छ ।
३) फास्ट फुडसँगै खाद्यान्न र सिटामोल लगायतका सामग्री राहत स्वरूप वितरण गर्नु पर्छ ।
४) इस्मा गाँउपालिकाद्वारा सबै पक्षलाई राहतमा जुट्न आÞवान गर्दै स्थानीय क्लब लगायतका संस्थासँग हातेमालो गर्नु पर्छ ।
५) विद्युत अवरुद्ध भएकाले प्रभावितहरू अध्याँरोमा बस्न बाध्य छन् । टेलिफोन सेवा समेत अवरूद्ध छ । विद्युत सेवा तुरुन्त सुचारू गर्नु पर्छ ।
६)ं पीडितहरूको पुनर्वासमा सबै सरोकारवालाहरू हातेमालो गरी एकिकृत बस्ती निर्माण गर्नुपर्छ ।
७)महामारी रोक्न मरेका चौपायाहरूको उचित व्यवस्थापन गर्नुपर्छ ।
८)त्यहाँको आधाजसो खेती योग्य जमिन पुरिएको र नष्ट भएको छ । आधुनिक प्रविधिको प्रयोगद्वारा खेत–बारीमा पसेको गिठी तथा बालुवा हटाएर जमिन खेतीयोग्य बनाइनु अनिवार्य छ ।
अन्त्यमा थुप्रै इस्मावासी तथा नेपालीहरूले प्रवासबाट समेत राहतका लागि अभियान थाल्नु भएको छ । काठमाडौं लगायत अरू शहरहरूबाट समेत राहत संकलनमा थुप्रै महानुभावहरू खटिनु भएको छ । अन्य नेपाली दाजुभाई दिदीबहिनीहरूलाई समेत हस्तिचौरबासीहरूको घाउमा मलहम लगाउन जुट्नु हुन अपिल गर्दछु ।

(लेखक नेपाली काँग्रेस क्षेत्र नं. २ गुल्मीका क्षेत्रीय सभापति समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update