Shittalpati
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो

पाल्पा, पछिल्लो समय पाल्पामा भन्सार छली गरी सामान भित्र्याउने क्रम बढ्दै गएको पाइएको छ । अवैध रूपमा भन्सार नतिरी विभिन्न वस्तु भित्र्याउने गतिविधि बढेपछि राजस्व संकलनमा समेत असर परेको छ ।

सीमावर्ती नाकाबाट खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, कस्मेटिक तथा दैनिक उपभोग्य वस्तुहरू भन्सार प्रक्रिया पूरा नगरी ल्याउने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न समयमा गरिएको अनुगमनका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गर्नुका साथै संलग्न व्यक्तिमाथि कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा पठाउँदै आएको छ । पाल्पा प्रहरीले केही दिन अघि भन्सार छली गरी ल्याइएका करिब चार लाख ७५ हजार रुपैयाँ बराबरका विभिन्न विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरेको थियो । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, पेडाँडामा गत शुक्रबारप्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
 

प्रहरी नायव उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईका अनुसार बुटवलबाट पोखरातर्फ जाँदै गरेको ईभी गाडीलाई शड्ढा लागेर जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका टाटा कम्पनीका चार थान एसी सेट, सोही कम्पनीका छ थान टेलिभिजन, एग्रो पाइन रिलिभ एक थान र एलजी बार साउण्ड एक थान रहेका छन् । सामानसँगै प्रहरीले गाडीका चालक वालिङ नगरपालिका–५ का ३७ वर्षीय यामबहादुर सार्की र सामानधनी नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–५ का ३७ वर्षीय दिनेश दर्जीलाई नियन्त्रणमा लिएको थियो । यो लगत्तै मंगलबार पनि प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ ।प्रहरीले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, पैठेडाँडा स्थित सिद्धार्थ राजमार्गबाट भन्सार छली गरी ल्याइएको कपडा बरामद गरेको हो । प्रहरीका अनुसार रुपन्देहीको बुटवलबाट बागलुङको बेनीतर्फ जाँदै गरेको लु २ ख ६९७६ नम्बरको हाईस गाडीलाई रोकी चेकजाँच गर्दा लुकाइछिपाइ भन्सार छली गरी ल्याइएको लत्ताकपडा फेला परेको हो । 

चेकजाँचका क्रममा प्रहरीले कुर्था १०९ थान र साडी ५१ थान बरामद गरेको छ । बरामद गरिएका सामानको अनुमानित मूल्य रु. ८५ हजार ४ सय ५० बराबर रहेको जिल्ला प्रहरी कार्यालय डीएसपी भट्टराइले बताए । प्रहरीले बरामद गरेको सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको जनाएको छ । भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा सवारीसाधन तथा सामानको चेकजाँच गर्दै आएको जनाएको छ । सिद्धार्थ राजमार्ग पाल्पा हुँदै रुपन्देही, गुल्मी, अर्घाखाँची, बागलुङलगायतका जिल्लातर्फ जाने प्रमुख मार्ग भएकाले यस क्षेत्रमा प्रहरीले अवैध रूपमा ओसारपसार हुने सामानमाथि निगरानी बढाउँदै आएको छ । 

विशेषगरी बिलबिजक तथा आवश्यक कागजातबिना सामान ओसारपसार गर्ने सवारीसाधनमाथि प्रहरीले चेकजाँचलाई कडाइ गर्दै आएको जनाएको छ । प्रहरीले भन्सार छली, चोरी तथा अवैध ओसारपसारबाट हुने राजस्व चुहावट नियन्त्रणका लागि आगामी दिनमा पनि चेकजाँच तथा निगरानीलाई निरन्तरता दिने जनाएको छ । बरामद भएको सामानको थप प्रक्रिया सम्बन्धित भन्सार कार्यालयमार्फत अघि बढाइने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update