काठमाडौं, काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका थिए । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । राउत व्यवसायी हुन् । उनी व्यापार व्यवसाय धराशायी भएपछि केही समय यता निराश थिए । उनको बुद्धनगरस्थित बुद्ध विहार छेउमा ठूलो कम्पाउण्डभित्र एक तले घर छ । राउतले व्यवसाय सञ्चालनमा समस्या भएपछि ललितपुर, भैसेपाटीमा रहेको जग्गा बेच्न खोजेका थिए । विभिन्न कारणले जग्गा बिक्री नहुँदा थप तनावमा थिए । यद्यपी उनको छोरासँग केही विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक जाँचमा खुलेको छ । घरमा श्रीमती र छोरासहित उनी बस्दै आएका थिए । छोरा र श्रीमती नभएका बेला भान्छा कोठामा गएर उनले आफैंलाई आगो लगाएका थिए ।
पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । यस्तै शुक्रबार नै सर्लाहीका विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेकलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको पनि अवस्था गम्भीर रहेको जनाइएको छ ।


