पाल्पा, सरकारले मदिरा र चुरोटमा कर बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मदिरा र चुरोटमा कर बृद्धि गरिएको जानकारी गराएका हुन् ।
सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा ल्याउने घोषणा गरेका छन् । त्यसैगरी, मदिरा र बियरमा लाग्दै आएको अन्तःशुल्कमा वृद्धि गरेपछि आगामी साउन १ गतेदेखि बजारमा चुरोट र मदिराजन्य उत्पादनको मूल्य बढ्नेछ । सरकारले नेपाली ब्राण्डका मदिरालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य पनि राखेको छ । बजेटमा उल्लेख भएअनुसार नेपाली ब्राण्डका मदिराको निकासी प्रवद्र्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन र ‘मेचुरेसन’ कार्यलाई विशेष प्रोत्साहन दिइनेछ ।
यसबाट स्वदेशी कच्चा पदार्थमा आधारित उच्च गुणस्तरको मदिरा विदेश निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने बाटो खुल्ने सरकारको विश्वास छ । बजेटले स्थानीय स्तरमा सञ्चालनमा रहेका ‘माइक्रो ब्रुअरी’ (साना बियर उद्योग) हरूलाई पनि औपचारिक दायरामा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई मदिरा उद्योगका रूपमा दर्ता गरी अनिवार्य रूपमा अन्तःशुल्कको दायरामा ल्याइने व्यवस्था मिलाइएको छ । मदिरा र सूर्तिजन्य पदार्थमा हुने कर छली र अवैध व्यापार रोक्न सरकारले कडा कदम चाल्ने भएको छ । अर्थमन्त्री वाग्लेले अन्तःशुल्क चुहावट नियन्त्रण गर्न ‘विद्युतीय ट्र्याक एण्ड ट्रेस’ प्रणाली सुरु गर्ने घोषणा गरेका छन् ।


