विश्व ‘अटिजम’ जागरुकता दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको पाइन्छ ।
नेपालमा यो दिवस पहिलो पटक २००८ मा मनाइएको थियो । नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा घोषणा गर्न भनेको थियो । सोही अनुरुप डिसेम्बर १, २००७ मा संयुक्त राष्ट्र साधारण सभाले अप्रिल २ लाई विश्व अटिज्म जनचेतना दिवस भनेर तोकेको हो । मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपाङ्गता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ । अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन् । कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन । पछिल्लो समय नेपलसहित विश्वभर अटिजमको समस्या बढ्दो छ । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक भने छैन ।
अटिजमको समस्याबाट गुज्रिरहेकाहरुको उपचार र नियन्त्रणका लागि त्यसको तथ्यांक राख्न आवश्यक छ । यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन् ढिलो हुनुको साथै अवस्था जटिल हुँदै जान्छ । यस कारण यो समस्या समयमा पहिचान गर्न सकियो भने जटिलता हुनबाट बचाउन सकिन्छ । यसर्थ समाजमा अटिजम समस्या भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई तत्काल उपचारमा संलग्न गराउन सकियो भने अटिजम जागरुकता दिवस मनाउनुले सार्थकता पाउन सक्छ ।

