पाल्पा,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई पाल्पा क्षेत्र नं. २ का मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी रहेको उनीहरुको गुनासो छ । यहाँ ग्रामीण क्षेत्रका मतदाताहरुले आफुहरुको समस्या बुझ्ने नेतालाई भोटदिने बताएका छन् । पाल्पा क्षेत्र नं २ अन्तर्गत तिनाउ गाउँपालिका–४ सत्यवतीका मीनबहादुर चौहानले हरेक पटकका निर्वाचनमा पानी ल्याइदिन भने पनि आफुहरुको समस्या कसैले नसुनेको बताए । उनले भने“ चैत, बैशाख लाग्नासाथ गाउँमा आउने खानेपानीका मुहान सुक्छन् । त्यसपछि बिहानै उठेर पिउने पानी खोज्दै खोल्साका कुवा धाउनुपर्छ । सबेरै नजाने हो भने कुवाको पानी पनि नपाइने चिन्ता हुन्छ, ।” हाम्रीलाई जसले खानेपानी ल्याइदिन्छ उसैलाई भोट दिने उनको भनाई छ । यो समस्या उनको मात्र होइन यस क्षेत्रका ३ सय ५० परिवार वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका छन् । तिनाउ कचलका थर्कबहादुर बगालेले बिगतमा धेरै पार्टीका नेताले स्थानीयको सबै माग पूरा गर्ने भन्दै निवार्चनका बेला झुक्याएर भोट लिए पनि यसपटक भने बिगतमा जस्तो प्रतिबद्धता मात्र जनाउने तर काम नगर्नेलाई कुनै हालतमा भोट नदिने बताउँछन् । मतदाताको मागप्रति बेवास्ता गर्ने र आफ्नो मात्र फाइदा उठाउनेलाई भोट नदिने गाउँलेहरूले निर्णय गरेको उनले बताए । “जसले स्थानीयको माग पूरा गर्छ । त्यसले भोट पाउँछ । नत्र बहिस्कार हुन्छ । नेतालाई भोट चाहिएको छ भने जनताको समस्या बारेमा बुझ्न जरुरी छ । अब पहिलाको जस्तो जनतालाई भ्रममा नपारे हुन्छ । पहिलाको जस्तो जनता झुक्याउने काम नगरे हुन्छ,” बगालेले भने । बगनासकाली–१, घोरबन्दाकी सुमित्रा कुमालले पनि प्रत्येक निर्वाचनमा गाउँमा आएर उम्मेदवारले आश्वासन बाँडे पनि स्थानीयका समस्या हल नगरेको गुनासो गरिन् । ५० प्रतिशत कुमाल समुदायको बसोबास रहेको यहाँका अधिकास मतदाताको मजदुरी नगरी साँझा विहान चुलो बल्दैन । “केही वर्षअघिसम्म त ज्याला मजदुरी गरेर पनि गुजारा चलाउन सकिन्थ्यो तर अहिले त काम खोज्दै बजार गयो, ज्याला मजदुरी नपाउने अवस्था छ” सुमित्राले भनिन् “यहाँ रोजगार नपाएपछि गाउँका युवाजति विदेशतिर गए । गाउँमा त बुढाबुढी मात्र छन् ।” उनले गाउँमै गरिखाने वातावरण बनाइदिनेलाई भोट दिने बताईन् । “धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ”, उनले भनिन्, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।” यहाँका अधिकांसले दैनिक मजदुरी नगरे खान पाउँदैनन् । सदरमुकामदेखि नजिकको बस्ती भए पनि बेरोजगारीसँगै स्वास्थ्य र शिक्षाको अभाव छ । रैनादेवी छहराका तुलबहादुर पोखरेलले नयाँ पुराना पार्टीले जनताको हितमा काम गर्न नसकेको गुनासो गरे । लामो इतिहास बोकेका र भर्खर खुलेका पार्टीको विकास तथा सुशासन स्थापित गर्ने एउटै धारणा हुनुपर्ने उनको भनाइ छ । विकट गाउँ बस्तीका नागरिक आधारभूत सेवा पाउनबाट वञ्चित रहेका सुनाउँदै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता रहेको पोखरेल बताउन्छन् ।
“मैले धेरै चुनावमा भाग लिए, चुनाव जितेकाहरुले केही गर्दै नगरेका त होइनन्, तर उनीहरुले जति गर्नुपर्ने हो त्यति गरेनन्, अब आउने नेतृत्वले हरेक नागरिकको समस्या बुझेको हुनु पर्छ”, उनले भने, “आफ्नो पार्टीका मान्छेलाई काखा अरूलाई पाखा गर्ने विभेदी नेता हुनुहुँदैन, निःस्वार्थी भावको नेतालाई जिताउन जरुरी हुन्छ ।” पोखरेलले विगतमा जिताएर पठाएकाले केही नगरेपछि यस पटक भने नयाँ अनुहार, युवा र गाउँको समस्या बुझेका उम्मेदवारलाई भोट दिने बताए । मतदातालाई भेट्न घरदैलोमा पुगेका नेपाली कांग्रेसका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ समक्ष ति क्षेत्रका स्थानीयले विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरेका । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो । गुनासो सुनेपछि उम्मेदवार श्रेष्ठले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि आफुले पहल गर्ने बताएका छन् । “हामी निर्वाचनका बेला आश्वासन दिन होइन, यहाँहरुका समस्या बुझेर समाधानका लागि काम गर्न उम्मेदवार बनेर आएका हौं ” उनले भने “विगतका नेताहरुले निर्वाचनका बेला आश्वासन बाँढेका होलान् तर काँग्रेसले काम गरेर देखाउन्छ । म तपाईहरुको सेवक बनेर काम गर्न आएको छु । निर्वाचनमा रुख चिन्हमा मत दिएर विजयी गराउन म यहाँहरुलाई आग्रह गर्छु ।” उनले काँग्रेस बदलिएर आएकाले एक पटक काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराएर देशको नेतृत्व सम्हाल्ने अवसर प्रदान गरिदिन पनि आममतदाताहरुलाई आग्रह गरेका छन् । श्रेष्ठले पाल्पा क्षेत्र न. ं२ को शिक्षा, स्वास्थ्य र सिचाइ मुख्य चुनौती रहेको र यहाँको जग बलियो बनाउन आफुलाई विजयी बनाउन मतदातालाई भनेका छन् । निर्वाचनपछि पछि बन्ने नेपाली काँग्रेसको सरकारले गाउँमै कृषि, घरेलु उद्योगहरुको स्थापना गरी युवाहरुलाई उद्यमीशीलता र रोजगार प्रदान गर्ने समेत श्रेष्ठले उद्घोष गरे ।
पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरे, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव बहादुर थापा, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीका रामबहादुर अस्लामी, जनता समाजवादीका खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिका टोपबहादुर अस्लामी, मंगोल नेसनल अर्गनाईजेसनका मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीका बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीका कृष्ण सोभा मुस्याख्व स्वतन्त्रबाट मोहन कुमार थापा र केशवप्रसाद बस्याल लगायतका उम्मेदवारहरु मतदाता भेट्न घरदैलो कार्यक्रममा व्यस्त छन् ।


