तानसेन, आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालयहरुले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् ।
निर्वाचन कार्यालय पाल्पाले मतदानको लागि मतदान स्थलमा आवश्यक पर्ने सरसमानको विवरण बनाई रुजु गर्दे प्याकिङ गरी तयारी अवस्थामा राखेको छ । उसले यहाँका दुवै निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने सामग्रीहरूको प्याकेजिङ कार्य सकेको हो । निर्वाचनका लागि अनिवार्य मानिने मत पेटिका, स्वस्तिक छाप र स्ट्याम्प प्याडदेखि मसलन्दका सरसमान, मतदान अधिकृतको डायरी, मुचुल्का फारम, मतदाता नामावली र नयाँ मतदाता परिचयपत्र, तयार गरिएको छ । यसैगरी लाहा छाप, सलाई, मैनबत्ती, सुतली धागो, स्टेसनरी सामग्री, र मतदान केन्द्र व्यवस्थापनका लागि डोरी, अशक्त बृद्ध बृद्धाहरुको लागि प्रयोग हुने सांकेतिक कार्ड र प्राथमिक उपचार बाकसको समेत व्यवस्था गरिएको छ । मतदान स्थलमा चाहिने ६० भन्दा बढी प्रकारका सामाग्रीहरुको प्याकिङ गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका लेखापाल विनोद घिमिरेले बताए ।
नर्वाचन मिति नजिकिदै जाँदा देशभरका निर्वाचन कार्यालयमा अन्तिम तयारीको लागि कर्मचारीहरु खटिएका छन् । विहान ७ बजेदेखी राती अवेरसम्म कर्मचारीको व्यस्तता बढेको छ । मतदान प्रक्रियालाई व्यवस्थित बनाउन सानादेखि ठूला सबै सामग्रीको सूची तयार पारिएको छ । यहाँका दुई वटा निर्वाचन क्षेत्रका २५१ वटा स्थायी र २ वटा अस्थायी गरी २५३ वटै मतदान केन्द्रका लागि आवश्यक सामग्रीहरू रुजु गरी पोका बनाउने काम सम्पन्न भएको निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताए । पाल्पामा प्रत्येक निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ६ जनाका दरले कर्मचारी खटाउने गरी अन्तिम तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्येक मतदान केन्द्रका लागि चाहिने सानादेखि ठूला सामानहरू प्याकिङसंगै केहि दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिममा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुटेको छ । पाल्पा जिल्लाको क्षेत्र नं. १ मा ५२ वटा मतदान स्थलको ११७ वटा मतदान केन्द्रमा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन । यसै गरी क्षेत्र नं. २ मा ६६ वटा मतदान स्थलको १३४ वटा मतदान केन्द्रमा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । यहाँ निर्वाचनको लागि विभिन्न किसिमका तयारी पूरा भएसँगै अब सबैको ध्यान फागुन २१ को मतदान तर्फ सोझिएको छ । पाल्पा दुई सिटको लागि क्षेत्र नं. १ मा १४ जना र क्षेत्र नं. २ मा १६ जना उम्मेदवारहरु प्रतिष्प्रर्धामा छन् ।

