Shittalpati
काँग्रेस देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर छ: उपसभापति शर्मा

पाल्पा,नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले  काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले काँग्रेस बदलिएर आएकाले अब देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भएको बताएका हुन् ।

“हामी बदलिँदै गर्दा  जनताको  सपना समेत बदल्छौं”उपसभापति शर्मा भने “जेनजीको ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली काँग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौं ।”देश नै आत्मविश्वास गुमाएकोजस्तो अवस्थामा रहेकाले जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको भन्दै शर्माले त्यसका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने प्रस्ट्याए । “कांग्रेससँग जादुको छडी छैन, तर सही नियम, प्रक्रिया र संस्था बनाएर देश चलाउने क्षमता छ,” उनले भने । हाल देशमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै उसभापति शर्माले भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएर आएको दाबी गरे । उनले कांग्रेस नै सबैभन्दा जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टी भएको पनि बताए । नेता शर्माले भने “जब जब देशलाई बलिदान र त्याग आवश्यक प¥यो, त्यति बेला यही पार्टीले देशको नेतृत्व गरेको इतिहास साक्षी छ ।”

कांग्रेसले यस पटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ जना उम्मेदवारहरू नयाँ उठाएको उनले बताए । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ । बदलिएको कांग्रेसले यस पटक आम कार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरूका लागि आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाएर बदलिएको कुरा पुष्टी गरेको उनले सुनाए । “काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ,” उनले भने । “२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार, संसद् भवन किन जल्यो, अरबौं खरबौंको क्षति किन भयो, देशमा त्यो प्रकारको निराशा किन भयो ? कसले गरायो यी सबै कुराको जनतालाई बुझाउन हामीले सक्नुपर्छ, ।” देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उनको भनाइ छ । “यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन,”उनले भन्नुभयो । पुरानाका दिन गए भन्न नमिल्ने उनको भनाइ छ । यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताए । “नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो,”शर्माले भने । अर्को प्रसंगमा उहाँले कांग्रेसभित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउनतर्फ लाग्न आह्वान गरे । उनले  कसैलाई गाली नगरी आफ्ना कुरा प्रष्टसँग जनतासँग राखेर मत माग्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उपसभापति शर्माले भने, “हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।”

कार्यक्रममा  नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिहं, पुर्व केन्द्रिय सदस्य हरि प्रसाद नेपाल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, नेपाली काँग्रेस क्षेत्र नं. २ का उम्मेदवार एवं जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना, काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, नेपाली काँग्रेस क्षेत्र नं. १ का उम्मेदवार सन्दिप राना, समानुपातिक  उम्मेदवारहरु कृष्ण प्रसाद अधिकारी, जमिला मिया, नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसिले लगायतले फागुन २१ हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र देशलाई संकटबाट बचाई जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सकिने बताए । काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरेको अध्यक्षता, उपसभापति ज्ञानबहादुर गाहाको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update