Shittalpati
नर्सको पीडा : तलब थोरै, तनाव धेरै

पाल्पा, स्वास्थ्य संस्थाका फ्रन्टलाइनर हुन्, नर्सहरू । उनीहरु अस्पतालमा पुगेका बिरामीका लागि आशा र भरोसाका केन्द्र  समेत हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ । औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् । तर तिनै नर्सहरू अन्योलग्रस्त भविष्यप्रति दिक्क देखिन्छन् ।

न्यून तलब र तनावका बिच उनीहरु काम गर्न बाध्य छन् । जसका कारण पछिल्लो समय धेरै  नर्सहरूमा बिदेसिने हुटहुटी समेत देखिन्छ । महामारी र विपत्तिहरुमा सबैभन्दा बढी खट्ने स्वास्थ्यकर्मी नर्स नै हुन् । कोरोनाकालमा जोखिमको परवाह नगरी अग्रपङ्क्तिमा रहेर नर्सहरुले सेवाभावको उच्चतम् नमुना देखाएका थिए । तर नेपालमा तिनै नर्स विभिन्न बहानामा पीडित छन् । मीना बस्याल  पाल्पाको एक अस्पतालमा काम गर्छिन् । उनले त्यस अस्पतालमा काम गरेको ५ वर्षभन्दा बढी भयो । उनी बेलुका ४ बजे अस्पताल पुग्छिन् । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् । राति १० बजे ड्युटी सकिन्छ । घर फर्कदा न उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ । नर्सिङ पेशा आफैमा गर्व गर्न लायक भए पनि त्यहाँ भित्र थुप्रै पीडाको सामना गर्नु परेको उनको  गुनासो छ । बस्यालले भनिन् “पेसाले म एक नर्स हुँ । मलाई आफ्नो यस पेसामाथि गर्व छ तर कहिलेकाहीँ नर्स बनेकोमा पीडाबोध पनि हुन्छ ।  नर्सिङ एउटा पेसा मात्रै नभई मानवता पनि हो । भावना हो, कर्म हो । धेरै नेपाली बुबाआमाहरुको सपना हुन्छ, आफ्ना छोरीहरूलाई हामीजस्तै नर्स बनाउने, तर नर्स भइसकेपछि भोग्नुपर्ने पीडा कम छैनन् ।” योग्यता अनुसारको पारिश्रमिक पाउन नसकिएको उनको गुनासो छ । उनले भनिन् “ठूलो रकम खर्च गरेर नर्स पढ्यो, जागिर पाइँदैन, जसोतसो गरेर जागिर पाइहाले पनि न्यून तलवमा काम गर्नु परेको हुन्छ । निजी अस्पतालहरुमा नर्सहरुले कम तलबमा काम गर्नुपरिरहेको अर्की नर्स निसा लम्तरीले बिताइन् । उनले भनिन् “ड्युटी अवधि र हेर्नुपर्ने बिरामीको संख्याले सधै पेलानमा पर्नु पर्छ, जसका कारण शारीरिक, मानसिक र सामाजिकरूपमा समेत दबाब खेप्नु परिरहेको छ ।” काम अनुसारको तलव भने नभएको उनको गुनासो छ । लम्तरी भन्छिन्  “काम गर्न थालेको ८ वर्ष भयो अहिले बल्ल मासिक २० हजार तलब पुगेको छ । यो तलबमा कोठा भाडा तिर्नु कि के गर्नु ? अरु पेसाजस्तै नर्सहरुलाई समेत सेवासुविधामा सुधार गर्नुपर्ने उनको भनाई छ । यस्ता पीडा बस्याल र लम्तरीको मात्र हैन देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो । हरेक वर्ष माघ १५ गते नर्सिङ सेवा र नर्सहरुलाई सम्मान गर्ने उद्देश्य लिएर नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर उनीहरुका पीडा कम हुन सकेका छैनन् । दया र सेवाकी प्रतिमूर्ति ‘लोरेन्स नाइन्टिंगेल’ को सेवाभावलाई मानक मान्दै उपचारमा खटिने  नर्सहरु राज्यले दिने सुविधामा भने कहिल्यै प्राथमिकतामा पर्दैनन् । सरकारी अस्पतालमा थोरै दरबन्दी छ भने निजीमा श्रमको मूल्य नै छैन । नर्सहरुको पहिलो सर्त र स्वभाव भनेको बिरामीको सेवा हो । उनीहरु हरबखत बिरामीको मलिन अनुहारमा खुसी ल्याउन प्रयासरत रहन्छन् । बिरामीको अनुहारमा देखिने खुसीले उनीहरु प्रफुल्ल हुन्छन् । तर न्यून पारिश्रमिकमा काम गर्नु उनीहरुका लागि ठूलो पीडा हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन । त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेका नर्सले निजी अस्पतालमा अहिले पनि मासिक १०÷१२ हजारमा मात्रै काम गर्न बाध्य छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update