प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ । सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर वैशाखकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ । यो वर्षायाम मध्य भदौसम्म रहनेछ । मौसमी चक्रअनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ । यो नियमित चक्र मात्र होइन, प्रकृतिको आशीर्वाद पनि हो । खेतीका लागि प्रत्येक थोपा वर्षा अमृत हो । तर अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै हुन्छ । हरेक वर्ष यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ । पहाडमा बाढी र तराईमा डुबानले बर्सेनि ठूलो संख्यामा जनधनको क्षति गर्छ । प्राकृतिक विपत्ति रोक्न नसके पनि सरकारले पूर्वतयारी गरे क्षति कम गर्न सकिन्छ तर, पूर्वतयारीको काम कागज र बोलीमा मात्रै सीमित हुँदा यसबाट ठूलो धनजनको क्षति नेपालीले व्यहोर्न बाध्य छन् ।
नेपालमा अझै पनि विपद् व्यवस्थापन प्रतिक्रियामूलक छ, घटना भएपछि मात्रै सक्रिय हुने प्रवृत्ति बलियो छ । यो विडम्बना हो । अब पूर्वतयारीमा केन्द्रित रणनीति आवश्यक छ । बाढी र पहिरोबाट प्रभावित हुने सम्भावित क्षेत्रहरूको पहिचान, जोखिम नक्सांकन, कमजोर सडक खण्डहरूको सुदृढीकरण, ढल–निकास व्यवस्थापन, नदी नियन्त्रण र समयमै चेतावनी प्रणाली विकास अपरिहार्य भइसकेको छ । जलवायु परिवर्तनले विपद्का घटना बढाइरहेको छ र नेपाल त्यसको केन्द्रमा उभिएको छ । यस्तो अवस्थामा समयमै तयारी नगर्ने हो भने भोलिको क्षति नियन्त्रण बाहिर जान सक्छ । त्यसैले अब सरकार, निजी क्षेत्र र नागरिक सबैले मिलेर मनसुनजन्य विपद्को तयारी आजैबाट सुरु गर्नुपर्नेछ । समयमै गरिने तयारीले मात्रै विपद्लाई पूर्णरूपमा रोक्न नसके पनि त्यसबाट हुने क्षति अवश्य घटाउन सक्छ र यही नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । तसर्थ सरकारले यसतर्फ समयमै ध्यान दिन जरुरी छ ।

