Shittalpati
मानव अधिकार तथा शान्ति  समाज पाल्पाले मनायो प्रेस स्वतन्त्रता दिवस

पाल्पा,मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाले ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । समाजले स्वतन्त्र प्रेसको महत्व बारे उजागर गर्दै दिवस मनाएको हो । तानसेनको शित्तलपाटीमा आयोजित कार्यक्रममा  प्रेस स्वतन्त्रता भए मात्र  देशमा  मानव अधिकार सहितको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सुरक्षित हुने र  शान्तिपूर्ण समाज निर्माणका लागि सहयोग पुग्ने कार्यक्रममा सहभागीहरुले जोड  दिएका छन् । नेपालको संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक शासन प्रणाली, मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चिततामा पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने उनीहरुको भनाई छ ।  विशेष गरी राज्यले प्रेसलाई निषेधमुक्त वातावरण सिर्जना गर्नुपर्ने, पत्रकारहरुको सामाजिक सुरक्षा र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, डिजिटल मिडियामा देखिएका चुनौतीहरुलाई कानुनी रुपमा सम्बोधन गर्नुपर्ने वक्ताहरुले बताए । आजको आवश्यकता व्यावसायिक नैतिकता र जिम्मेवार पत्रकारिता रहेको सहभागीहरुले बताएका छन् । उनीहरुले राजनीतिक हस्तक्षेपबाट मुक्त पत्रकारिता, बाह्य प्रभाव र असुरक्षाबाट मुक्त पत्रकारिता, अहिलेको आवश्यकता रहेको समेत उल्लेख गरे ।

प्रेस स्वतन्त्रता, मानव अधिकार र शान्ति स्थापना बीचको अन्तरसम्बन्धलाई बलियो बनाउँदै जिम्मेवार पत्रकारिता नै लोकतन्त्रको सुन्दरता रहेको सहभागीहरुको जोड छ  । कार्यक्रममा  मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य रेणुका देवकोटाले लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अनिवार्य रहेको बताउँदै पत्रकारहरुको सुरक्षा र अधिकारको सुनिश्चितता आवश्यक रहेको बताईन् ।  समाजका जिल्ला अध्यक्ष सन्तवीर बरालले पत्रकारितामा देखिएका चुनौतीहरु समाधान गर्न राज्य, समाज र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । पत्रकार कृष्ण पोखरेलले डिजिटल युगमा सूचनाको विश्वसनीयता र पत्रकारिताको नैतिकता अझ महत्वपूर्ण भएको उल्लेख गर्दै सुरक्षित र स्वतन्त्र वातावरणमा पत्रकारिता गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । संस्थाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  पत्रकारहरु कृष्ण पोखरेल र  प्रेरणा नेपाललाई उपहार स्वरुप  सत्य, निष्पक्ष सन्तुलित समाचार लेखनको लागि डायरी र पेन हस्तान्तरण गरेको छ ।  समितिका  सचिव अशोक घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update