Shittalpati
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते

पाल्पा,  जिल्लाको रामपुर नगरपालिका–८ कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझा रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । 

अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कुमालको रामपुर अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो ।   
दुर्घटनामा लु २० प ५८९७ नम्बरको चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडी सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएको हुन् ।

घाइतेहरुको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल  कलेज प्रभासमा ल्याइएको छ । घाइते मध्ये करणको अवस्था गम्भीर रहेको छ भने गिरमानको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update