Shittalpati
उपसभामुखको राजीनामा र सभामुखको तयारी

उपसभामुख डा. शिवमाया तुम्वाहम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमै शिवमायाले राजीनामा दिएकी छन् । जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने बुझेरै उनले राजीनामा दिएकी हुन् । अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन अवस्थामा रहेको छ ।
सभामुखका लागि बाटो फुकाउनका लागि पनि उनले दिएको राजीनामा सान्दर्भिक रहेको यदाकता बहस सूरु भएका छन् । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि जननिर्वाचित संस्था सभामुख विहिन रहेको छ । सरकारका तीन महत्वपूर्ण निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संवैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषदका पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् ।

राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका रुपमा यो पदलाई लिइन्छ । यही कारणले दलका शीर्षनेताले आफ्नो अनुकुलको व्यक्तिलाई सभामुख बनाउन जोड गरिरहेका छन् । यो सरासर संवैधानिक व्यवस्था माथिको प्रहार हो । उपसभामुख तुम्बाहाम्फेले पार्टीको निर्देशन नमान्ने अडान लिएपछि केही दिन अघिदेखि सभामुख निर्वाचन प्रक्रियाका दुईटा विकल्पमाथि बहस सुरु भएको थियो । पहिलो, उपसभामुख पार्टीबाट अलग भइसकेकाले उनलाई स्वतन्त्र मानेर नेकपाले सभामुख पदमा दाबी गर्न सक्ने । दोस्रो, उपसभामुखले राजीनामा दिएर दुवै पदमा नयाँ निर्वाचनका लागि बाटो खोलिदिने । अन्ततः तुम्बाहाम्फेले दोस्रो विकल्पलाई अगाडि सारेर दुवै पदका लागि मार्गप्रशस्त पारिदिएकी छन् । उनको राजीनामासँगै सभामुखको निर्वाचनका लागि माघ १२ गतेका लागि मिति तय भएको छ ।

महरा सभामुखको कर्तव्यबाट असफल भएपछि दुवै पदका लागि बहस भएको हो । सभामुख वास्तवमा निकै कूटनीतिक र चलाख हुनुपर्छ । बहुमतको सरकार, सत्तारुढ दलकै सभामुख हुँदा सरसर्ती गजबको संयोजन देखिए पनि प्रतिपक्षी दललाई पनि सहमतिमा ल्याएर सरकारले ल्याएका विधेयकहरुलाई सहज ढङ्गले सहमतिपूर्वक पारित गराउने सवालमा सभामुखको भूमिका निकै महत्वपूर्ण हुनुपर्छ । तर, सभामुख महरा त्यो भूमिकामा सफल नदेखिएको सत्तापक्ष र प्रतिपक्ष दुबैको गुनासो सुनिँदै आएको थियो । विगतका सभामुखको भूमिकाका कारणले पनि नेताहरु आफ्नो अनुकूलको व्यक्तिलाई सभामुख बनाउने कसरतमा छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update