
पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिराहा, बाँके, मोरङ, कैलाली, धनुषामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
सिराहाको लहान नगरपालिका–१ मटिअर्वास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्र.२–०१–००२ प ५०८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय जीवन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित सडकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भे.८ प २२३५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बढैयाताल गाउँपालिका–२ बस्ने ३० वर्षीय प्रदिप ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ सोहनीस्थित सडकमा पनि मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । म. प्र.–०२–००६ प ५४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मिथिला नगरपालिका–२ बस्ने ३२ वर्षीय सरोज महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, धनुषाकै कमला नगरपालिका–२ माची टोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बीआर ३२ एस ७९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक जनकनन्दिनी गाउँपालिका–५ बनरझुला बस्ने १८ वर्षीय अमित यादव र मोटरसाइकलमा सवार १९ वर्षीय राहुल महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकमा सु.प.प्र.०१–००१ क १६९० नम्बरको ट्रकमा से.५ प. ३४१४ नम्बर मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुँवर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङको विराटनगर महानगरपालिका–७ स्थित सडकमा बि.१ ह ०२६२ नम्बरको सिटी सफारीको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–१४ बस्ने ७५ वर्षीय चक्र प्रसाद निरौलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।