Shittalpati
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिकामा  ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ ।  गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।

शिविरमा ९४ जना बिरामीलाई आवश्यक औषधि र चश्मा वितरण गरिएको छ भने १५ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको  गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ८६ वर्षका लालबहादुर क्षेत्री र चन्द्रमणी भण्डारीजस्ता जेष्ठ नागरिकले गाउँमै शल्यक्रिया गरेर फेरि देख्न पाउँदा खुसी व्यक्त गरेका छन् । क्षेत्रीले भने, “अब फेरि राम्रोसँग देख्न पाएँ, निकै खुसी लागेको छ ।”

शिविरमा बाग्लुङ्ग  जिल्लाको बरेङ गाउँपालिकासहित गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले समेत सेवा लिएका छन् । वरिष्ठ नेत्र विशेषज्ञ डा. सविता ढकालले यस्तो सेवा गाउँमै दिन सक्दा बिरामीको अनुहारमा अद्भुत खुसी देखिएको बताइन् । गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग र शान्तिपुर आँखा उपचार केन्द्रको व्यवस्थापनमा दुई दिनसम्म शिविर चलेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा, आँखा उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष गणेश खत्री, प्रशासकीय अधिकृत शिव ज्ञवाली, नेत्र सहायक सुदीप पौडेल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update