
गुल्मी, जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
हत्यामा संलग्न तिनै जनालाई डाँकाचोरी मुद्दामा दश/दश वर्ष कैद र एक/एक लाख रुपैयाँ जरिवाना र कसुर गर्ने तीन जनाबाट मृतकको जाहेरवालालाई एक/एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । जिल्लाको मुसीकोट नगरपालिका–७ वामीकी ५८ वर्षीया शेरचनको २०७९ साल माघ १५ गते मृत अवस्थामा शव फेला परेको थियो । न्वारामा ३० वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी उनको आफ्नै घरभित्र हातखुट्टा र मुखमा टेप बाँधिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा संलग्न बागलुङका घर्तीलाई २०७९ फागुन २२ गते, मकवानपुरका दर्लामीलाई २०७९ फागुन २३ गते र काभ्रेका शिवबहादुर तामाङलाई २०७९ साल चैत २८ गते पक्राउ गरेको थियो । यस्तै सोही घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –२ का ३९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले २०८१ साल फागुन २७ गते काठमाडौँबाट पक्राउ गरेको थियो । तामाङ अन्य धेरै अपराधिक घटनाका मुद्दासँग जोडिएकोले उनको बारेमा जिल्लामा फैसला नआइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
होटलमा ग्राहकको आवरणमा आएका उनीहरुले शेरचनको हत्या गरी साथमा रहेको नगद तथा गहना समेत चोरेका थिए । प्रहरीको अनुसन्धानमा हत्यारा सामाजिक सञ्जालमा राखेका भिडियो र फोटोबाट स्थान र व्यक्ति पहिचान गरी त्यहाँ पुगेका थिए ।