Shittalpati
सलह किराको पूर्व नियन्त्रणमा लागौं

नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसँगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ता अगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (सलह) ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भएका थिए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदै गर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषिलाई चौपट पार्न सक्ने देखिएको छ ।

अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश चुनौतीका रुपमा रहने देखिन्छ । विशेषगरी यस किराले गहुँ, तोरी, कपास, मकै, मसला लगायत अन्य बालीलाई हानी पार्ने गर्दछ । सलह फट्यांग्राको एक प्रजाती हो, यो एक किसिमको फौजी किरा भएता पनि यसको असर धेरै मात्रामा देखिएको पाइन्छ । यो समूहमा बस्ने, लामो दुरीमा उड्ने प्रजाती हो । यसले हरिया सबै बोटबिरुवालाई सखाप पार्दछ । दिनप्रति दिन जलवायु परिवर्तन हुँदै जानु, जलस्रोतका मुहानहरु सुख्खा हुनु, वनजङ्गल फडानी हुनु, हाँस, माकुरा, छेपारो, सर्प जस्ता यसको सत्रु जिवको नष्ट हुनु नै यसको उत्पति र विस्तार मानिएको छ ।

सहलको प्रकोपबाट नेपालमा जोडिएका भारतीय भू–भागहरू जस्तै– उत्तराखण्ड र उत्तरप्रदेश बढी जोखिम हुने देखिन्छ । भारतको उत्तरी क्षेत्रमा फैलिएमा नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट छिर्न सक्ने सम्भावना धेरै नै रहकाले नेपालमा यसको नियन्त्रणका लागि पूर्व तयारी अपनाउनुपर्ने देखिन्छ । नेपाललमा सलहका लागि उपयुक्त वातावरण भएकाले पनि यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याई प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न जाँदा जोखिम बढाउने देखिन्छ । त्यसैले नेपालले प्रकोप नफैलिदै यसको नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउने तर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update