Shittalpati
काँग्रेसले नचिनेको चकोरमान

विहान करिब ९ बजे तिर मेरो मोवाइलको घण्टी बज्न थाल्यो, म भर्खरै शारिरिक ब्यायम गरेर कोठामा प्रवेश गर्दै थिए । फोन तानसेनबाट मित्र भीमसेन कार्कीले गर्नु भएको रहेछ । धेरै भूमिका नबाधी उहाँले अत्यन्तै दुखद खबरको जानकारी दिनुभयो । चकोर काका हामीलाई छोडेर जानुभयो ! उहाँको कुरा कल्पन नै नगरेको अप्रत्याशित र अत्यन्तै दुःखद् थियो । मैले सोच्नै नसकेको समाचारले मन अशान्त हुँदै गर्दा फेरी मित्र मोहन श्रेष्ठ (नि.अध्यक्ष पाल्पा उवा संघ)को फोन आयो, कुरा त्यही नै थियो । साह्रै असहय भएपछि घटनाको वास्तविकता बुझ्न घेरै ठाउँमा फोन लगाए । कुरा साँचो र दुःखद् थियो । नियतिको खेलको अगाडि कसैको केही लागेन ।

मनभित्र धेरै कुराले प्रश्न गरिरहेको थियो । उहाँको अनुहार, उहाँसँग बिताएका हरेक पल सबै एकाएक गर्दै आँखै अगाडि आए जस्तो यादहरू ताजा हुँदै गर्दा भीमसेन र मोहनजीले भनेको कुराले अस्वाभिक डर उत्पन्न हुँदै आइरहेको थियो । के साच्चै चकोरमान काका जीवनसँग लडाई हारेर जानु भएको हो त ? शारीरिक रूपमा ७५ वर्ष नाघे पनि कुनै युवाहरूको भन्दा कम थिएन उहाँको आत्मबल दृढ आत्मविश्वासी, निर्णय क्षमताका धनी, सबैलाई सँगै हिडाउन सक्ने व्यक्ति आखिर कसरी एक्लै अनन्त यात्रामा कहिल्यै नफर्कने गरेर हिडनुभयो ? विश्वासै नलाग्ने तर यथार्थलाई पछ्याउँदै म उहाँलाई उपचारका लागि राखिएको पाटनको हरिसिद्दी क्यान्सर हस्पिटल जाने तयारी गरे । तर जाने कसरी ? देशैभरी कोरोना महामारीले लकडाउनका कारण हिड्न असहज थियो । मोफसलको तुलनामा काठमाण्डौँ अलिबढी सुरक्षा सतर्कता अपनाइएकाले बन्द कडा थियो । यो अवस्थामा म जसरी पनि जानुपर्छ भन्ने दृढतालाई आत्मसात गरी मोटरसाईकल निकाल्दै परिस्थिति बुझ्न चकोरकाका का ज्वाई दिपेन्द्र बज्राचार्यसँग कुरा गरेर यस्तो घटनाको जानकारी नपाएकोमा असहमति पनि पोखें । उहाँले परिस्थिति बुझेर आउन भन्दै गर्दा म घरबाट निस्किसकेको थिए । झण्डै १४ किमी बाटो सुनसान र परिस्थितिले नियास्रो लाग्दो थियो । सधैँ ट्राफिक जाम भइरहने बाटो, केही मोटरसाईकल र छिट्फुट गाडी गुडिरहेको र ति ठाउँमा ट्राफिक, प्रहरीहरूले रोकेर सोध्ने गरेको देखिन्थ्यो । ६ ठाउँको चेकिङमा आफ्नो समस्या बताउँदै अगाडि बढदै गए । बाटोभरि धेरै कुरा मनमा खेलिरह्यो, अकल्पनिय दुर्घटना जब अप्रत्याशित रूपमा सुनिन्छ त्यस्ले मानिसको जीवनमा पीडा बोध अत्यधिक हुँदोरहेछ भन्ने बास्तविकता मैले त्यो दिन वास्तवमै महशुस गरे । किनभने उहाँको सामिप्यताबाट मैले धेरैकुरा सिक्ने, हाम्रो परिवारले निकट एवं मार्गदर्शककै रूपमा हामीलाई दिनुहुने प्रेरणादायी सल्लाह सुझावले त्यो व्यक्तित्वको अपूरणिय क्षतिबाट मेरो मन साह्रै दुखित एवं चेतनाशून्य अवस्थामा थियो । १५/२० मिनेटको त्यो बाटो धेरै लामो महशुस भइरहेको थियो । मोटरसाईकल हस्पिटल कम्पाउण्डमा राखेर ३ तला माथिको आईसियू उक्लिने ठाउँमै कोरोना महामारीले उत्पन्न स्वास्थ्य सतर्कता ख्याल राख्न दुरी कायम गरी तोकिएको फारम भरी ज्वरो नापी पञ्जा लगाएर जानै लाग्दा मेरो नजर त्यहीबेला हस्पिटल कम्पाउण्डमा प्रवेश गर्दै गर्नु भएकी चकोरमान काका कि जीवनसंगिनी विमला काकीमा प¥यो । त्यति बेला उहाँको अवस्था मैले कल्पना मात्र गर्न सक्थ्ये । अत्यन्तै थकित, निराश विमला काकी मेरो अगाडि आईपुग्दासम्म मैले उहाँलाई सान्त्वना दिने हिम्मत जुटाउनै सकिन । कि कर्तव्य विमूख उभिईरहे, उहाँले पनि केही भन्न सक्ने कुरै भएन । मान्छेमा दुःख र आपद्को बेला आँट नआउदो रहेछ । चुपचाप उहाँलाई आईसियुडिएफ जाने बाटो दिएर म पछि–पछि लागे । जहाँ विमला काकीसँग सँगै जीवन जीउने कसम खाएर भर्खरै केही समय अगाडि उहाँलाई एक्लै छोडेर जानुभएको चकोर काकाको पार्थिव शरीर राखिएको वार्ड थियो । पारिवारिक सामाजिक र दैनिक जीवनमा सदैव साथ दिदै आईरहनु भएकी काकीलाई त्यो क्षण कस्तो महशुस भयो होला भन्ने उहाँको मौनता नै साक्षी थियो । जब चकोर काकाको अन्तिम दर्शन गर्न त्यो कोठाको अगाडि पुग्यौ, निष्पट सन्नाटालाई चिर्दै बेदनाहरू आँसुको थोपा र बियोगका रोदनले पोखिन थाल्यो । उपस्थित सबैका आँखा रसाउन थाले । बुहारी, छोरी, ज्वाई, आफन्तजन सबै भक्कानिदै काकीलाई सम्हाल्दै, सम्झाउँँदै सान्त्वना दिदै गर्दा मैले संम्झे (दैव कति निष्ठुरी) नियतीले एक वर्ष पनि नपुग्दै उहाँमा अर्को बज्रपात ल्याएको थियो । घरकै एकमात्र छोरा गुमाउदाको पीडा भुल्न नपाउदै जीवनको उत्तराद्र्धमा एउटा बलियो आशा र सहारा त्यो पनि आफुसँगबाट चुडालेर लैजादा हुने कष्ट, वियोग उहाँ अरूले महसुस गर्ने कुरा भएन् । तथापी ढिलो चाडो एकदिन त्यहि बाटो हामी सबैले पछ्याउनै पर्छ भन्ने भावमा सम्झाउदै त्यो कोठबाट अन्तिम दर्शन पश्चात काकी ग्राउण्डको विश्रामस्थल तर्फ लानुभयो । म केहीबेर त्यही कोठा अगाडि उभिइरहे जहाँ चकोरकाकाले देहत्याग गरि सबै कुराबाट विश्रान्ती लिदै हामीबाट धेरै टाढा गइसक्नु भएको थियो ।

उहाँको भौतिक शरिरलाई हस्पिटलले तल छुट्टै कोठामा लाने तयारी गर्दै गर्दा चकोरकाकाको सबै परिवारको चाहना अनुसार उहाँकै जन्मघर तानसेन नै लाने तयारी गर्दै थियौं । लकडाउनका कारण एम्बुलेन्स, गाडीहरू सजिलै उपलब्ध हुने अवस्था पनि थिएन, त्यो बेला । केही समयको प्रयत्नपछि एउटा एम्बुलेन्स जान तयार भै आउने खबर पायौ । हस्पिटलमा उहाँका आफन्तजन, शुभचिन्तकहरू लकडाउनको परवाह नगरी आईरहनु भएको थियो । त्यहाँ उपस्थित सबैको एउटै कुरा हुन्थ्ये । तानसेनलाई माया गर्ने, सधैँ तानसेनको सामाजिक, आर्थिक, धार्मिक विकाशमा अग्रपङ्तीमा उभिएर बारम्बार आफ्नै प्रयोग र अनुभवको कसीमा खरो उत्रिएका विकासप्रेमी अभियान्ताको निधनले तानसेन र पाल्पा काँग्रेसले सच्चा नगरवासी एवं इमान्दार कार्यकर्ता गुमाएको चर्चा भै राखेको थियो । कुनै ठाउँ यस्तो हुन्छ जहाँ जन्मन पाएकोले त्यहाँका मानिस धन्य हुन्छन्, कोही मानिस यस्ता हुन्छन्, जो कुनै ठाउँमा जन्मेकोले त्यो ठाँउ धन्य हुन्छ । तानसेनको टक्सारटोल त्यही ठाउँ हो जहाँ चकोरमान शाक्य जस्ता टक्सारकै पर्यायवाची व्यक्तित्वको जन्म भयो । एउटा निम्न मध्यम वर्गिय परिवारमा शिक्षित र प्रजातन्त्रवादी पिता पूर्णमान शाक्यको राजनैतिक चेतनामा दिक्षित भएर नै आफ्नो वयष्क जीवनदेखि नै प्रजातान्त्रिक नेपालको सुनौलो भविष्य निर्माणको अभियानको पञ्चायतकालिन कालरात्रीमा पनि निरन्तर लागिरहे । आफ्नो पिताको छत्रछायाँमा हुर्कदै गर्दा त्यति बेलाको ‘युवक काँग्रेस’मा आवद्धता जनाएर काँग्रेसको राजनीतिमा लागेको उहाँ स्वयमले हामीलाई बताउने गर्नहुन्थ्यो । कहिले काही राजनीतिक जम्काभेट र भलाकुसारी हुँदा उहाँले ‘बुद्ध भगवानले आफ्नो उपदेशलाई समेत आलोचनात्मक आँखाले हेर्न र बारम्बारको प्रयोग, अनुभव र विवेकले ठिक लागे मात्र’ आफ्नो कुरा स्वीकार्न दिएको ज्ञानले नै आफुलाई चेतना प्राप्त भइराजनीति र सामाजिक कार्यमा लाग्न प्रेरित गरेको बताउनु हुन्थ्यो । शायद त्यसैले आफुमाथि श्रद्धा र सम्मानको आश कहिल्यै नगरी काँग्रेसको राजनीतिमा प्रतिवन्धित कालदेखि अविच्छिन्न रूपमा आज पर्यन्त सतिसाल जस्तै उभिरहे ।

२०३६ सालको जनमत संग्रहमा निलो रङ्गको झण्डा बोकेर बहुदललाई जिताउन लाग्दादेखि काँग्रेसले स्थानीय निकायलाई उपयोग गर्ने नीति लिदा तत्कालिन टक्सारको वडाध्यक्ष निर्वाचित भै सक्रिय रूपमा राजनीति गर्दा पनि प्रजातन्त्रवादीको आफ्नो अडान र छाप मेट्न दिनुभएन । आफ्नो दर्विलो उपस्थिती नगर पञ्चायत भित्र दर्शाउदै गर्दा आरोपको सामना गर्नु परेको कुरा बताउने गर्नुहुन्थ्यो । तिनताका प्रतिवन्धित काँग्रेसको राजनीतिलाई भित्रबाट सहयोग गर्ने, नगर पञ्चायतमा पार्टीको भावनाको प्रतिनिधित्व गर्ने, राजनैतिक निर्णयहरूको जानकारी नेतृत्वलाई दिने, प्रशासनिक निकायसँग नजिक रहेर त्यहाँ भित्रको राजनीति सम्बन्धी जानकारी पार्टी नेतृत्वमा पु¥याउने भूमिकालाई कुशलता पूर्वक निर्वाहा गरेको उहाँको स्मरण हामीमाझ व्यक्त हुँदा रोमाञ्चक हुने गर्दथ्यो ।

२०४६ साल अगाडि पञ्चायतीकालमा प्रतिवन्धित दलको विचारधारा बोकोर समाजमा उपस्थित हुनु सामान्य कुरा थिएन । खासगरि काँग्रेस समर्थित नेतृत्ववर्ग र विद्यार्थी राजनीतिमा सक्रिय नेताहरू माथी राज्यको बक्रदृष्टी हुने गरेको थियो । त्यतिबेला पञ्चायती शासकका पक्षधरहरूबाट हुने मानसिक, शारिरीक, मनोवैज्ञानिक यातनाहरूका अनगिन्ती श्रृड्खला भोगेका काँग्रेसी निडर थिए । स्थानीय नेताहरूलाई अघोषित निगरानीमा राखेर उसका दिनचर्या, क्रियाकलाप बेली विस्तार प्रशासनलाई बुझाउन मासिक तलब भत्ता खाएरै केही ‘मण्डले’ प्रवृतिका ब्यक्ति परिचालित हुने गरेका थिए । नगरभित्र काँग्रेसको गतिविधी बैठक, छलफल हुने भगवती ध्वज राजलवट, चकोरमान शाक्य, केशवलाल कसजु, बिजुली कुमार उदय र केही विद्यार्थी नेताहरुको डेरा कोठा पनि उच्च निगरानीमा हुने गरेको मलाई पनि राम्रै सम्झना छ । यस्तो अवस्थामा पनि राजनीति विवेकले चलाउने हो निर्देशनले होईन भन्ने सिद्धान्तका पक्षपाती चकोरमान काकाले दुख आफै टार्दै गर्दा प्रशासनबाट पाईरहने मानसिक यातना कसरी हुन्थ्ये भन्ने ति ईतिहासका पानाहरू वर्तमानमा किम्वदन्ती पनि लाग्न सक्छ । पञ्चायतकालिन समयमा राजनीतिलाई सामाजिक सेवाको भावमा परिचालन गरी संगठन निर्माण गर्ने उद्देश्य बोकेका नगर क्षेत्रका चकोरमानहरू परिवर्तनको आकांक्षालाई सँगै पार लगाउन बीपी कोईरालाले सोचे जस्तो समतामूलक, सवल, दिगो प्रजातन्त्र कोरल्न घेरै कष्ट गौरवका साथ बेहोरिरहे । स्वाभिमानी नागरिकले आम मानिसको हितका पक्षमा काम गर्ने प्रयास, जिम्मेवारी पूर्वक निभाउन आफु नै उदाहरण बनिदिने केही काँग्रेसी नेताहरूमा उहाँको नाम समावेस गर्दा अत्यूक्ति आजको परिवेशमा नहोला ।

२०४६ को पूर्वसंन्ध्या तिर मध्यराती र कहिले काही झिसमिसे एकाबिहानै, प्रजातन्त्रको सुनौलो सुर्योदय हुने आशमा तानसेनका गल्ली चहार्दै प्रहरी प्रशासनको आँखासँंग लुकामारी खेल्ने, हाते पंप्लेटले नगरका भित्ता सिगार्न उहाँलाई कसैले रोक्न सकेन । कहिले काही आफ्ना कार्यकर्ता साथीहरूको घरायसी समस्या र आर्थिक दुर्बलतामा सहयोगी मन बनाउदा आनन्दित हुने चकोरमान त्यसैले पनि शायद बुद्धका अनुयायी उहाँ सम्यक बचन र सम्यक कर्मले शत्रुलाई पनि बदल्न सकिन्छ भन्ने दर्शनबाट अभिप्रेरित रहेर परिवर्तन ल्याएर तानसेनको मुहार फेर्ने अभियानमा जीवनको अन्तिम क्षणसम्म कटिवद्ध भइ लागिरहनु भयो ।

२०४६ साल पछि बहुदलिय प्रजातन्त्रको उदय पश्चात नेपाली काँग्रेसको झण्डालाई नगरका वडा र टोलमा पुर्‍याउँदै अगाडि बढदै गर्दा अगुवाले जेसुकै गरे पनि चाल पाउने मूच्छित मान्छे बन्न आफ्नो स्वाभिमानले दिएन । त्यतिबेला पनि काँग्रेसमा जागृत र समालोचक मान्छे हुनु भनेको नेतृत्वको बक्रदृष्टि वा कोपभाजनमा पर्नु हो भन्ने उक्ति उहाँमा पनि चरितार्थ हुन पुग्यो । पार्टी भित्र प्रारम्भ भएको गुटगत राजनीतिले तानसेन नगरपालिकाको मेयर पदमा उहाँको स्वभाविक दावेदारीलाई त्यतिबेलाका काँग्रेसी ‘भिजीलान्ते’हरूबाट लत्याईए । काँग्रेसले मेयर पदमा जित हासिल त गर्‍यो तर सांगठनिकरूपमा काँग्रेसको पतनको प्रारंम्भिक शुरूवात त्यहीबाट भएको मान्न सकिन्छ । तत्कालिन समयको कठोरतम दिनमा पार्टीलाई दिएको उर्जाशिल समय, निरन्तरको क्रियाशिलता र अनवरत नगर क्षेत्रमा संगठन निर्माणका लागि खर्च गरेका हरेक पल षड्यन्त्रको चक्रब्यूहमा गुटिय शिकार हुदै गयो । केही पाल्पाली नेता र उनी समर्थित व्यक्तिहरूका कारण नगर क्षेत्र भित्र काँग्रेसको संगठन खस्लित हुदै गर्दा लाचार चकोरमान जनाधार गुम्दै गरेको पत्तै पाउन असमर्थ हुनुभयो । गुटिय राजनीति यति विध्न मलजल हुनपुग्यो कि काँग्रेसको हितनै प्रधान हुनुपर्छ, जेकुराले समुदाय र संगठनको हित गर्छ त्यस्ले व्यक्तिको हित स्वतः गरिहाल्छ भन्ने धारणा राख्नेहरू पाल्पा काँग्रेसमा योजनावद्ध तरिकाले पाखा लगाईन थालियो । व्यक्तिवादी र निहित स्वार्थमा आधारित गुटतन्त्र अत्याधिक मौलायो हुँदाहुँदा दोस्रो स्थानीय निर्वाचनमा आइपुग्दासम्म काँग्रेसले तानसेन नगरको मेयर पदमा २ जनालाई आधिकारिक टिकट दिएर दुनियाँलाई हसाउने काम मात्र गरेनन् फेरि पनि चकोरमानको रूख चिन्ह लिएर निर्वाचन लड्ने राजनीति गरे देखिको पहिलो र शायद अन्तिम ईच्छालाई तुषारापात गराईयो ।

राजनैतिक संस्कार पाएर यहाँसम्म आईपुग्नु भएको उहाँलाई नेपाली काँग्रेसको नगर समितिबाट समेत हटाएर आफ्नो स्वार्थ सिद्ध गर्न पल्केकाहरूको कोपभाजनमा पर्नुभयो । यति हुँदा पनि हामीसँगको कुराकानीमा उहाँले किंचित आफुमा विचलन नल्याई साँचो अर्थमा काँग्रेसको एक सच्चा सिपाही झै युद्व मोर्चामा सधैँ अग्रपंड्तिमा अविराम हिड्न छोड्नुभएन् । जीवनको उत्तरार्धमा तानसेन नगरको चौतर्फी विकास, आफुले सक्ने सेवाभाव अन्यायपूर्ण राजनैतिक जीवनमा, योगदानको कदर नभएपनि खुसी हुँदै संसारिक माया/मोहको जंजालबाटै विदा हुनुभयो । अब उहाँको योगदानको चर्चाले कुनै मान्यता नराख्ला । वास्तवमै उहाँको कदर सम्मान आफ्नै पार्टीले गर्न नसके पनि तानसेन नगरभित्र उहाँ अर्थात् चकोरमान शाक्य जस्ता व्यक्तित्वको भौतिक शरीर हामीमाझ नरहेता पनि कालान्तर, चीरकाल पर्यन्त नगरवासीको मन, मस्तिकमा रहिरहनु हुनेछ ।

(लेखक नेपाल प्रेस युनियन पाल्पा र पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update