Shittalpati
धुम्रपान रहित दिवस र यसको सार्थकता

आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस हो । नेपालमा पनि धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विगतमा जनचेतनामूलक औपचारिक कार्यक्रमको आयोजना गरी नेपालमा दिवस मनाइने गरिए पनि यस वर्ष भने कोरोना महामारीका कारण दिवस अन्यौलमा रहेको छ । धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन विश्वको लागि आज ठूलो चुनौती बनेको छ । कागजको पाना भित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट जोगाउन हरेक वर्ष मे ३१ तारिकका दिन धुम्रपान विरुद्धको दिवस मनाउन सुरु गरिएको हो ।

सन् १९८७ देखि यस दिनलाई धुम्रपान रहित दिवसको रुपमा मनाइदै आइएको छ । यस दिवसको उद्देश्य धुम्र अर्थात् धुवाँजन्य र सुर्तिजन्य वस्तुको उपभोगका कारणले स्वास्थ्यमा पर्ने हानिको बारेमा जनजागरण फैलाउनु हो । तर दिवस मनाइरहे पनि विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । यो दुर्भाग्य भन्नुपर्छ । विश्वका हरेक देशले दिवसका नाममा करोडौं रुपैयाँ खर्चे पनि धुम्रपानका कारण मृत्युदर रोकिएको छैन । नेपालमा भने वर्षेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको छ । यसले के प्रष्ट हुन्छ भने दिवस औपचारिकतामै सिमित देखिन्छ । दिवसका दिन सुर्तिजन्य पदार्थको सेवनका विषयमा जनचेतना जगाउनु आफैमा सकरात्मक भएपनि वर्षमा एक दिन मनाएको दिवसले केही अर्थ राख्दैन ।

दिवसका दिन मात्र कार्यक्रमको आयोजना गरेर सुर्तिजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता जाहेर गर्ने र अर्को दिनबाट प्रकृतिले दिइएको सफा फोक्सो, स्वस्थ मुटु अनि सुन्दर भविष्यलाई चुरोटको धुवाँसंगै उडाउने कामले दिवसको कुनै औचित्य नै राख्दैन । तसर्थ सुर्तिजन्य पदार्थको सेवनले मुटु र फोक्सोमा समस्या उत्पन्न गर्ने भएकाले प्रत्येक दिनलाई सुर्तिरहित दिन बनाउन सक्यौं भने मात्र दिवस मनाउनुको सार्थक रहन सक्छ । अन्यथा दिवस दिवसमै सिमित हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update