Shittalpati
गणतन्त्र दिवसको सार्थकता

२४० वर्षे शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको यस दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । तर, १५ जेठको यो चरणमा नेपाली राजनीति आइपुग्नुमा ००७ सालपछि पटक–पटक भएका राजनीतिक संघर्षहरूको देन पनि उत्तिकै छ । ००७, ०३६, ०४६, १० वर्षे माओवादी विद्रोह अनि ०६२/६३ को ऐतिहासिक राजनीतिक आन्दोलनहरूको एकमुष्ठ उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र आएको हो ।

पटक–पटक राजनीतिक आन्दोलनबाट उपलब्धि हासिल गर्ने र चुक्ने नेपाली राजनीतिक नेतृत्वलाई पछिल्लो आन्दोलनले पुनः एउटा अभूतपूर्व मौका दिएको थियो । तर, त्यो अवसरको पूर्णरूपमा उपयोग गर्न नसक्दा आज पनि गणतन्त्र संस्थागत भइसकेको छैन । जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन सकेको छैन । गणतन्त्र दिवस मनाउनु राम्रो कुरा हो । तर, गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्ने कुरा चानचुने छैन । लोकतान्त्रिक गणतन्त्रका ११ वर्ष बितिसकेका छन् । तर, परिवर्तनको अनुभूति जनताले गर्न पाएका छैनन् । गणतन्त्र दिवस मनाउँदैमा गणतान्त्रिक मन र मस्तिष्क हुँदैन, गणतान्त्रिक आदर्श हुन सक्दैन । आचरण र व्यवहार गणतान्त्रिक हुनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन ।

राजनीतिक दलका नेता÷सरकारहरूका क्रियाकलाप लोकतन्त्र र गणतन्त्र सुहाउँदा हुन सकेका छन् । कैंयौं स्वेच्छाचारी निर्णय गर्ने, जनताको हित र कल्याणभन्दा सत्तामूखी हुने प्रवृत्ति नै अझै हाबी छ । शासन व्यवस्था लोकतान्त्रिक छ । तर, राजनीतिक नेतृत्वको चरित्र लोकतान्त्रिक हुन सकेन यो अत्यन्त दुःखको कुरा हो । जबसम्म जनस्तरमा परिवर्तनको अनुभूति हुन सक्दैन, तबसम्म गणतन्त्र दिवस मनाउनुको कुनै औचित्य पनि हुँदैन । तसर्थ जनताको जीवनमा गणतन्त्रले परिवर्तन ल्याउन सके वा आम जनताले त्यो परिवर्तन महशुस गर्न सके मात्रै गणतन्त्र दिवसको औचित्य सिद्ध हुन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update