पाल्पा, आज विश्व सेप्सिस दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १३ मा यो दिवस मनाउने गरिन्छ । सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसरका रुपमा यो दिवसलाई लिइन्छ । यो सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धनद्वारा सुरु गरिएको थियो । हरेक वर्ष सेप्टेम्बर १३ मा, विश्व भरि गरिने कार्यक्रमहरूले विश्वव्यापी रूपमा सेप्सिसको लागि चेतना जगाउँदछ ।
शरीरको कुनै अंगमा संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्वपूर्ण अंगमा असर पुर्यायो भने त्यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ । सेप्सिसलाई ‘लाइफ थ्रेटनिङ अर्गान डिस्फक्शन’ पनि भनिन्छ । सेप्सिसबाट विश्वभर बर्सेनि ११ मिलियन मानिसको मृत्यु हुने र ४९ मिलियन संक्रमित हुने गर्दछन् । चिकित्सकहरूका अनुसार सेप्सिसको पहिचान जति सक्दो चाँडो हुनु आवश्यक हुन्छ । किनभने उपचारमा गरिने प्रत्येक घण्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ । यद्यपि संक्रमण हुँदैमा सेप्सिस हुँदैन । छाती दुख्नु, खोकी लाग्नु, निमोनिया हुनु जस्ता समस्या भए समयमै उपचार गराई चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरे निको हुन्छ । तर, सही समयमा उपचार हुन सकेन र संक्रमणले शरीरका अन्य अंगको कामलाई असर पुर्याउन थाल्यो भने त्यो अवस्थालाई सेप्सिस भनिन्छ । जस्तै, छातीमा असर पर्न गयो भने अक्सिजनको सन्तुलन बिग्रिएर भेन्टिलेटरमा राखी अक्सिजन दिनुपर्ने हुन सक्छ । मुटुमा असर परेर ब्लड प्रेसर कम हुँदा मेडिकल सपोर्ट लिएर ब्लड प्रेसरको सन्तुलन मिलाउनुपर्ने हुन सक्छ । संक्रमणकै कारण मिर्गौलामा असर परेर पिसाब कम हुने र डायलाइसिस गर्नुपर्ने, रगतमा असर परेर शरीरमा रगत बन्ने प्रक्रियामा कमी आउने, कलेजोमा असर परेर त्यसले राम्रोसँग काम नगर्ने, दिमागमा असर गरेर दिमागले राम्रोसँग काम नगर्ने आदि समस्या आउन सक्छ ।
सेप्सिस संक्रमण जति बल्झिँदै गयो त्यति जटिल बन्दै जाने समस्या हो । यो नवजात शिशुदेखि वृद्धवृद्धा जोसुकैलाई पनि हुन सक्छ । सेप्सिस हुने सम्भावना बालबालिका र वृद्धवृद्धालाई बढी हुन्छ । यो उमेरमा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुन्छ । त्यसैगरी, पहिले नै कुनै रोगका कारण शरीरमा रोग प्रतिरोधी शक्ति घटेको बिरामीलाई सेप्सिस हुने सम्भावना धेरै हुन्छ ।