Shittalpati
रेसुङ्गा विमानस्थलमा उडान थप,अब हप्तामा चार दिन हुने

गुल्मी, यात्रुको चाप बढ्दै गएपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप गरिएको छ । यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको हो ।

उडान थप भएसँगै अब हप्तामा चार उडान हुने भएको छ । विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए । विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप भएपछि उडान थप गर्नु परेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उनका अनुसार अहिले यात्रुहरुको चाप दैनिक जसो बढ्दै गएको छ । गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएका छन् । अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २ सय ८० रुपैयाँ भाडा दर कायम गरिएको छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन थालेपछि आम गुल्मेलीलाई राहत महशुस भएको छ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थल निर्माणपछि टेवा पुगेको छ । विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update