Shittalpati
पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत

पाल्पा, पाल्पाको रामपुरमा स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पुरस्कृत गरेको छ । शाखाको १२ औँ साधारण सभाका अवसरमा उनलाई पुरस्कृत गरिएको हो । 

शाखाका साधारण सदस्य समेत रहेका भण्डारीलाई लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील रहेका कारण थप उत्प्रेरणा जगाउन सम्मान गरिएको शाखाका सचिव महेश गौतमले जानकारी दिए । पत्रकार भण्डारीलाई शाखाका सदस्य स्वर्गिय नेत्रप्रसाद हमालको स्मृतिमा स्थापना गरिएको पुरस्कार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघका जिल्ला अध्यक्ष सूर्य सुवेदी लगातले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक समेत रहेका भण्डारी झण्डै २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । उनी यसअघि राष्ट्रिय समाचार समिति, नेपालवाणी नेटवर्क, नेपाल एफएम नेटवर्क, आँधिखोला एफएम, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, देउराली साप्ताहिक लगायतमा काम गरिसकेका छन् । उनी तानसेन, बुटवल हुँदै अहिले काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भण्डारी अनलाइन टिभी पत्रकार संघका अध्यक्ष पनि हुन् ।  उनले पछिल्लो समय इन्टरनेट माध्यमलाई व्यवस्थित र जिम्मेवार बनाउनु पर्ने पक्षमा पैरवी गर्दै आएका छन् । 

भण्डारीले सम्मानपछि शितलपाटी डटकमसँगको कुराकानीमा सम्मान आफ्नो लागि मात्र नभएर सिङ्गो नेपाली पत्रकारिता जगतको भएको बताएका छन् । उनले आर्थिक, राजनितिक र साहित्यक क्षेत्रको विकृति विसंगतीका विरुद्धमा खरो रुपमा कलम चलाउदै आएको पाइन्छ । पत्रकार भण्डारीले पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका छन् भने पत्रकारिताको प्राध्यापनसँगै विभिन्न विषयमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका छन् । उक्त समारोहमा विभिन्न शिर्षकमा अन्य पत्रकारलाई समेत सम्मान तथा पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update