Shittalpati
ठूला दलका निसाना बन्दै सरकारी र पुरातात्विक स्थलहरु

पाल्पा, पछिल्लो समय जिल्लाका ठूला राजीतिक दलहरुको निसानामा सरकारी संस्था र पुरातात्विक सम्पदाहरु पर्ने गरेका छन् । उनीहरुले आफ्ना गतिविधिहरु गर्न तिनीहरुको चरम दुरुपयोग गर्ने गरेको पाइन्छ । राजनीतिक गन्ध नै आउन नदिने स्थानहरुको प्रयोग गरी दलहरुले पार्टीका क्रियाकलापहरुलाई पश्रय दिइरहेका छन् ।

गत मंसिर ३० गते नेपाली काँग्रेसले तानसेन नगरपालिकाको भवन नै ढाक्ने गरी ब्यानर राखेर जिल्ला सम्मेलन गरेको विषय निकै आलोचित बन्यो । सरकारी भवनमा पार्टीको व्यानर राखेर कार्यक्रम गर्नु उचित नभएको भन्दै नागरिकस्तर र सञ्चार माध्यमबाटै पार्टीको व्यापक आलोचना भएको थियोे । त्यो आलोचना सेलाउन नपाउँदै नेकपा एमाले तानसेन नगर कमिटीले गत शनिबार ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल दरबार भित्र पार्टीको ब्यानर र झण्डा राखेर बैंठक गरेपछि अहिले त्यसको सर्वत्र आलोचना भएको छ । एमालेले पर्यटकीयस्थल जस्तो ठाउँलाई प्रयोग गरेर पार्टीको बैंठकस्थल नै बनाएपछि सामाजिक सञ्जाल र यत्रतत्र आलोचना भएको हो । एमाले नगर कमिटीले भने रानीमहलको प्रचार–प्रसार र थप स्तरीकरणको लागि सबैको ध्यानाकर्षण स्वरुप बैंठक राखिएको बताएको छ ।         

नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले नगर सरकारको स्वीकृत लिएर नै दरबारमा बैंठक राखिएको बताएका छन् । उनले रानीमहलको पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा रानीमहलमै पुगेर बैंठक राखिएको बताए । तर सामाजिक सञ्जाल प्रयोगकर्ता र केही राजनीतिक नेतृत्वले भने प्रेमको प्रतिक रानीमहल दरबार पार्टीका बैंठक र भेला गर्ने ठाउँ नभएको भन्दै सो गतिविधिमाथि आलोचना गरेका छन् । नगर अध्यक्ष आत्रेयले बैंठकका तस्वीरसहितको गतिविधि सामाजिक सञ्जालमा पोष्ट गरेपछि सूर्य प्रकाशले काँग्रेसले नगरपालिकामा, एमालेले रानीमहलमा भेला गरेर हिसाव बराबर गरेको भन्दै कमेन्टमा व्यङ्ग्य गरेका छन् । यसको जवाफमा नगर अध्यक्ष आत्रेयले भने नगर सरकारको अनुमतिमै बैंठक कक्षमा बैठक बसिएको बताएका छन् । उनले कमेन्टमा भनेका छन् ‘तानसेन नगरपालिकाले अनुमति दिएको रानीमहल बैठक कक्षमा हो हजुर, बुझेर लेख्ने की ? बैठक कक्ष बैठक बस्नकै लागि बनाईएको हुन्छ ।’ उनको यो जवाफपछि सूर्य प्रकाशले फेरि कमेन्ट गर्दै रानीमहलमा बैठक र भेला गर्ने ठाउँ नभएको बताएका छन् । उनले भनेका छन् ‘रानीमहल बैठक र भेला गर्ने ठाउँ हैन, प्रेमको प्रतिक पर्यटन कै रुपमा विकास गर्नुपर्छ भन्ने मेरो आसय हो, तानसेन नगरपालिकाले त अनुमति जे पनि दिन्छ ।’

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुहरुकै अनुमतिमा एमालेको नगर बैंठक बसेको बताए । उनले भने‘ नगर कमिटीले हामी दरबारमा बैंठक राख्छौं भनेर सोधेपछि हामी नराख्नुहोस् भन्न मिलेन, दरबार सबैको हो, त्यहाँ जो सुकै गएर पनि कार्यक्रम, बैंठक राख्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ नगर प्रमुख श्रेष्ठले यस्ता विषयमा क–कसको के कस्ता धारणा आउँछन् त्यसतर्फ आफ्नो चासो नरहेको बताए । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले दरबारभित्र राजनीतिक दलहरुले कार्यक्रम गर्न हुँदैन भन्ने हैन तर पार्टीको झण्डा र ब्यानर नै राखेर गर्नु गलत रहेको बताए । उनले स्थानीय सरकारले दिएको स्वीकृतिलाई एमालेले दुरुपयोग गरेको उल्लेख गरे । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजेन्द्र विश्वकर्माले ऐतिहासिक धरोहरमा गएर पार्टीका कार्यक्रम गर्नुले राम्रो सन्देश प्रवाह नहुने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवरले पुरातात्विक महत्व बोकेका ठाउँहरुमा पार्टीका कार्यक्रम गर्न दिनु नै गलत भएको बताए । उनले बैंठक गर्ने र गर्न स्वीकृत दिने दुवैको कमजोरी भएकाले आगामी दिनमा सच्याएर जानुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले एमाले जस्तो ठूलो दलले रानीमहल दरबार भित्र गएर बैंठक राख्नु ऐतिहासिक पुरातात्विक सम्पदा माथिको भद्धा मजाक भएको बताए । उनले नगर सरकारले समेत सार्वजनिक महत्वको ठाउँमा पार्टीका झण्डा गाँडेर  कार्यक्रम गर्न दिन नहुने प्रतिक्रिया दिए । रानीमहल र पर्यटनको विकासका लागि बैंठक, कार्यक्रमहरु गर्नु आफैमा राम्रो हो तर पार्टीकै झण्डा र ब्यानर राखेर राजनीतिक गन्ध ल्याउनु राम्रो नभएको पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाका अध्यक्ष राजिवकुमार शाहाले बताए । बैंठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य, प्रतिनिधि सभा सासंद, जिल्ला समन्वय समितिका प्रमुखदेखि एमालेका उच्च पदस्त व्यक्तिहरु त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update