Shittalpati
मानव सेवा भन्दा ठूलो धर्म अरू केही छैन : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले मानव सेवा भन्दा ठूलो धर्म अरु केही नभएका बताएका छन् । शनिबार परमानन्द बाल–वृद्ध कल्याण संघ पाल्पाको स्थानीय तह भेला तथा प्रथम अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले मानव सेवा भन्दा ठूलो धर्म केही नभएको बताएका हुन् ।

‘मानवताको निम्ति, असहाय, वृद्धवृद्धा, बालबालिकाहरूको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन,’ सांसद रानाले भने । असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले यो नै ठूलो धर्म रहेको उल्लेख गरे । उनले मानवताका लागि गरिएका अभियानले ठूलो धर्म कमाएको भन्दै मानव सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रिय पात्र बन्ने बताए । संघले चालेको मानवता प्रवद्र्धनको महाअभियानलाई सबैले साथ दिनुपर्नेमा समेत सांसद रानाले जोड दिए । कहिलेकाहीँ मानवता नै कतै ओझेलमा पर्ने गरेको त छैन भन्ने चिन्ता व्याप्त रहने गरेको भन्दै उनले मानव भएपछि मानवता देखाउन जरुरी रहेको बताए । मानव भएपछि मानवको सेवा गर्नुनै सबैभन्दा ठूलो पुण्यको काम भएको सांसद रानाले उल्लेख गरे । उनले भने ‘दुःखी, गरिब, सहयोगको अपेक्षा गरेका व्यक्तिको सहयोग गर्नु नै मुख्य धर्म हो, यसमा सबै लाग्नुहोस् ।’ रानाले जेष्ठ नागरिक समाजका पथप्रदर्शक रहेकाले उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने कुरा सिकाउनु अहिलेको आवश्यकता रहेको पनि औल्याए । उनले वृद्धवृद्धाहरुलाई खुसी राख्न सके मात्र परिवार सुखी र समृद्ध बन्ने धारणा व्यक्त गरे ।

सांसद रानाले भने ‘अहिले जताततै  परिवारमा बेखुसी, असुन्तुष्ट देखिन्छ, परिवारलाई सन्तुष्ट राख्न आफ्ना बूढा भएका बाबु आमालाई सुखी राख्न सक्नुपर्छ ।’ सेवाले नै मानिसलाई आनन्द प्राप्त हुने उनले बताए । ‘राजनीति गर्नेहरुले आनन्द प्राप्त गर्न निकै गाह्रो छ । जति बेला आफुहरुले गरेको निर्णय र आम नागरिकलाई परेका समस्या समाधान हुन्छ तब मात्र आनन्द प्राप्त हुन्छ ’सांसद रानाले भने ‘व्यापारीले दिनभरी व्यापार गर्छ, साँझ पैसा गनेर आनन्द लिन्छ तर राजनीति गर्नेहरुलाई दिनभर गरेका कामले सार्थकता प्राप्त गरेन भने रातीमा आनन्दले निन्द्रा लाग्दैन ।’ उनले जेष्ठ नागरिकको अनुभव र ज्ञान, सिप अनुसरण गर्न पनि सबैलाई आग्रह गरे । संघका संस्थापक अध्यक्ष हिराधर आचार्यले असहाय बालबालिका र वृद्धवृद्धाहरुको उत्थान गर्ने उद्देश्यले संघ स्थापना गरिएको बताए । २०७० सालमा स्थापना भएको संस्थाले असहाय बालबालिका र ६० वर्ष भन्दा माथिका नागरिकका लागि असल शिक्षा दिर्दै आएको संस्थाका अध्यक्ष शिवप्रसाद देवकोटाले बताए । उनले भने ‘हामीले हेप्पी होमको अवधारणा अनुरुप समाजमा रहेका असहाय बालबालिका र जेष्ठ नागरिकहरुलाई घरमै कसरी खुसी राख्न सकिन्छ भन्ने खालका शिक्षावर्दक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।’ विद्यालय तहमै पुगेर विद्यार्थीहरुलाई आफ्ना आमा बाबा, असहाय भाईबहिनीहरुलाई माया, सद्भाव प्रकट गर्न आग्रह गर्ने गरेको उनले बताए ।

अध्यक्ष देवकोटाले छोराछोरीका कारण बाबुआमा वृद्धआश्रम जान नपरोस् भनेर छोराछोरी र जेष्ठ नागरिकसँग बसेर आवश्यक शिक्षा, सल्लाह र परामर्श दिर्दै आएको समेत बताए । उनका अनुसार संघले जेष्ठ नागरिकलाई भजनकिर्तन गराउने, मनोरञ्जन प्रदान गर्ने र बालबालिकाहरुलाई बाबु आमाको सेवा सत्कार गर्नु पर्छ भन्ने शिक्षा दिन विद्यालय तहमा पुगेर वक्तृत्वकला, हाजिरीजवाफ जस्ता कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर रावल, तानसेन  नगरपालिका–७ का वडा अध्यक्ष प्रदीप खनाल, नागरिक समाजका अगुवा तथा समाजसेवी चित्रवलीराम सुवाल, तानसेन–४ की वडा सदस्य सीता बस्नेत, तानसेन –२ की वडा सदस्य मञ्जु रणपाल लगायतले आ– आफ्ना धारणा राखेका थिए । संघका अध्यक्ष शिवाप्रसाद देवकोटाको अध्यक्षता, उपाध्यक्ष सरितादेवी भण्डारीको स्वागत, सहसचिव रमेशबहादुर बोहोराको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update