Shittalpati
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु

 पाल्पा, हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका –८ जरेपिपलमा दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीले रुख ढलेर लाग्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ ।

रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पतालमा ल्याइएकोमा डाक्टरबाट मृत घोषणा गरिएको अस्पतालकी सिखा पहारीले जानकारी दिइन्। 

पाल्पाबाट बुटवल जाँदै गरेको लु ८१ प ११३६ नम्वरको स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको स्थानीय दिनेश घिमिरेले बताए । उनका अनुसार ठूलो हावाहुरी लागेको र त्यसबाट जोगिन ओत लाग्दा रुख ढलेर उनलाई च्यापेको थियो । उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते रहेका छन् । उनको एलएमसीमा उपचार भइरहेको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ६७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।  
 तस्वीर: दिनेश घिमिरे  

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update