Shittalpati
काँग्रेसको मिसन ८४ हैन, झुपडीका घरहरुबाट गरिबी हटाउनु हो : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभएको बताएका छन् । केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएको स्पष्ट पारेका हुन् ।

शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले आयोजना गरेको एक औपचारिक कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सभापति श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभई झुपडीका घरहरुबाट गरिबी हटाउनुु रहेको बताए । उनले भने ‘चुनावलाई लक्षित गर्दै केही राजनीतिक दलहरु मिसन ०८४ को कुरा गरिरहनु भएको छ । तर काँग्रेसले भने कसरी झुपडीबाट गरिबी हटाउन सकिन्छ भनेर लागि रहेको छ ।’ काँग्रेसको एक मात्र  मिसन  भनेको विपन्न नागरिकका घरको धुरीबाट गरिबी हटाउनुु रहेको सभापति श्रेष्ठले बताए । ‘हामीले ठूला कुरा गर्दैनौं, जब सम्म आम नागरिक सम्पन्न हुँदैनन् तबसम्म न मुलुक बन्छ नत हाम्रो राजनीतिले सार्थकता प्राप्त गर्दछ । त्यसैले हामी आमनागरिकलाई उत्पादन र रोजगारीसँग जोडेर गरिबीको अन्त्य गर्नु छ’  उनले भने । सभापति श्रेष्ठले भूपु सैनिकहरुको काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको भन्दै अब नागरिकको जीवनस्तर उकास्न समेत लाग्नु पर्ने धारणा व्यक्त गरे । उनले संघमा आवद्ध भूपुहरुको योगदानको पार्टीले उच्च मूल्यांकन गर्दै संगठनका विभिन्न तह र संरचनामा समेत उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै आएको बताए । सभापति श्रेष्ठले भने‘ पछिल्लो समयमा सैनिकबाट अवकाश भएर आएका नयाँ भूपुहरु लोकतान्त्रिक विचारप्रति नजिक हुन सकेका छैन् उनीहरुलाई काँग्रेसको विचार, आस्थाका बारेमा जानकारी गराउनुपर्छ ।’ उनले संघमा आवद्ध सबै भूपु सैनिकहरुलाई गाउँ– गाउँमा पुगेर काँग्रेसको विचार र आस्थाका बारेमा जानकारी गराउन समेत आग्रह गरे । सभापति श्रेष्ठले आत्मियतासहितको एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै संगठन निर्माणमा एक भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले भूतपूर्व सैनिक अत्यन्त अनुसाशित संगठन रहेको बताए । उनले अब अनुसाशित विनाको संगठन चल्लन नसक्ने भन्दै सबै संगठनहरु अनुसाशित बन्नुपर्नेमा जोड दिए । काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले कम्युनिष्टहरुले भय र भ्रमको राजनीति गर्ने गरेकाले त्यसतर्फ सचेत हुन भूतपूर्व सैनिकहरुलाई आग्रह गरे । उनले भने‘ कम्युनिष्टहरुले कहिल्य पनि जनाताको कदर गरेनन्, बरु भ्रमको खेती गरेर जनतालाई दुख दिने काम मात्र भयो । अब यसतर्फ सबै सचेत हुनुुपर्ने बेला आएको  छ ।’ संगठनलाई बलियो र फराकिलो बनाएर लैजान राजनीतिक सुझ, बुझका साथ लोकतान्त्रिक आस्थाप्रति समर्पित हुन समेत भूपू सैनिकहरुलाई आग्रह गरे । उनले भने‘ केही साथीहरुलाई कम्युनिष्टहरुले दिग्भ्रमीत पारेका छन् । उनीहरुलाई काँग्रेसको विचारका बारेमा बुझाउन जरुरी छ त्यसतर्फ संघमा आवद्ध साथीहरु सक्रिय भएर लागौं ।’

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने, संघका केन्द्रीय प्रतिनिधि जुद्धवीर थापा, सल्लाहकार अमर बहादुर थापा, नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।  संघका जिल्ला अध्यक्ष विष्णुबहादुर गाहाले संघको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै  संघले नेपाली काँग्रेसको संगठन विस्तार, भूपू सैनिकका परिवारको सुखदुखमा साथ र स्थानीय, प्रदेश र संघमा भएका निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउने जस्ता कार्यमा सशक्त ढंगले लागेको बताए । उनले आगामी दिनमा समेत थप सशक्त भए लाग्ने बताए । संघका कोषाध्यक्ष खड्कबहादुर थापाले संघको आयव्यय प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, उपाध्यक्ष केशरबहादुर खाँणको स्वागत, सचिव टिकाबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 
 नेपाल भूतपूर्व सैनिक संघ पाल्पामा तदर्थ समिति गठन
यस्तै नेपाल भूतपूर्व सैनिक संघ पाल्पामा तदर्थ समिति गठन भएको छ  । शुक्रबार तानसेनमा भएको भूतपूर्व सैनिकहरुको भेलाले संघको तदर्थ समिति गठन गरेको हो ।

भेलाले कमल विक्रम खाँणको अध्यक्षतामा १५ सदस्यी तदर्थ समिति गठन गरेको  छ । जसको सदस्यहरुमा ल्याप्टेन सिवराज थापा, सुुवेदार चक्रबहादुर राना, ह.ना.सु तिलबहादुर राना, ह.क्या. बलहादुर जिसी, अ.क्या. देवबहादुर थापा मश्राङ्गी, ह. खड्क बहादुर शाही, ह.लक्ष्मण केसी, सु. हिरासिं राना, सु.टिकाराम राना, सु.हेमबहादुर सारु, ह.पूर्णबहादुर गाहा, अ.क्या. ओमबहादुर थापा, ना.सुु. दुुरेन्द्र बहादुर आले र ह.लेख बहादुर राना चयन भएको निर्वाचन अधिकृत टंकनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार समितिमा थप १४ जना सदस्य मनोनित गरी समितिले पूर्णता पाउने छ । उक्त समितिबाट नै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष चयन हुने छन् । यो समितिले संघका निर्वाचन गराई नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षमा चयन भएका खाँणले इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली कँँग्रेस केन्द्रले सबै भातृसंस्थाहरु विघटन गरी नयाँ समिति चयन गर्न निर्देशन दिएसँगै संघले तदर्थ समिति गठन गरेको हो ।
 
 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update