Shittalpati
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन

पाल्पा, लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।

प्रतिष्ठानको २३ औं स्थापना दिवस तथा लोकदोहोरी दिवसका अवसरमा कलाकरहरुले त्यहाँ रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएका हुन् । असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कमल भट्टराईले बताए । उनले भने ‘बेसहारा भई आश्रममा पुगेका आमाबुवाहरुलाई एक छाक भए पनि खाना खुवाएर उनीहरुप्रति सम्मान र आदर प्रकट गरिएको हो ।’

जिल्लाको टिमसँगै आश्रममा पुगेका प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा लोकदोहोरी गायक खुुमन अधिकारीले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति पाल्पाली कलाकारले देखाएको सद्भाव प्रशसनिय रहेको बताए । उनले प्रतिष्ठान पाल्पा शाखाले अनुुकरणीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा देशकै उत्कृष्ट शाखाको रुपमा केन्द्रले निर्णय गर्न पाओस् भन्दै प्रतिष्ठानको सफलताको शुुभकामना समेत व्यक्त गरे ।

 निलसागर आश्रम सञ्चालक समितिका सदस्य रामप्रसाद भट्टराईले कलाकारहरुले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । सदस्य भट्टराई भने‘ हामीले सहयोगीहरुबाटै वृद्धवृद्धाहरुको व्यवस्थापन गर्दै आएका छौं, अहिले उहाँहरुलाई खानाको व्यवस्थापन गर्न निकै धौं–धौं भएको छ ।’ आश्रमको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जान सकेमा केही भए पनि सहज हुने उनले बताए । आश्रममा पुुगेका कलाकारहरुले भोजन पश्चात भजनकिर्तन गरी मनोरञ्जनसमेत प्रदान गरेका थिए । उनीहरुले आश्रममा रहेका आमा बुवाहरुलाई सम्बोधन गर्दै भजनकिर्तन गरेका हुन् । कलाकारहरुले गाएको भजन गीतमा आश्रममा रहेका आमाबुवाहरु उत्साहित हुँदै कलाकारसँगै नाचेका थिए ।

आश्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा लोकदोहोरी गायक खुुमन अधिकारी, केन्द्रीय सदस्य गायीका रुपा जिएम, प्रतिष्ठान लुम्बिनी प्रदेशकी सचिव तथा प्रतिष्ठान पाल्पाकी पूर्व अध्यक्ष रेखा विष्ट, प्रतिष्ठान प्रदेश सदस्य समीक्षा ठाडा, गायीका विष्णुु पन्त, प्रतिष्ठान पाल्पाका सल्लाहकार तथा तानसेन–६ का वडा अध्यक्ष सागरमान महर्जन, प्रेस सल्लाहकार यज्ञमूर्ति तिमिल्सीना, रामचन्द्र रायमाझी लगायतका व्यक्तिहरु आश्रममा पुगेका थिए । कलाकारहरुले भोजन गराएकोमा आश्रममा रहेका बुुवाआमाहरु उत्साहित भएका थिए । औपचारिक कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको सञ्चालनमा भएको थियो । प्रतिष्ठान नेपालले  पाल्पासहित देशभरं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । मंगलबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना तथा लोकदोहोरी दिवस मनाएका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update