Shittalpati
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै

पाल्पा, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुुन लागेको छ । संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुुन लागेको हो ।

निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार दर्ता गराएका हुन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । चितवनको भरतपुरबाट प्रतिनिधित्व गर्ने दाहाल ०७८ चैतमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । कांँग्रेसबाट उम्मेदवार बनेका शर्मा २०७८ फागुनमा लुम्बिनीबाट निर्वाचित भएका थिए । उनी बाँकेबाट प्रतिनिधित्व गर्दछन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । काँग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । रिक्त पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update