Shittalpati
किन टिकेन देउवा–प्रचण्ड गठबन्धन ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेता एक वर्ष ९ दिन पुग्दा ‘बिछोडिएका’ हुन् । नेकपा (माओवादी केन्द्र) ले विभिन्न कारण देखाउँदै सोमबारदेखि नेपाली काँग्रेससँगको सहकार्य तोडेको छ । यससँगै काँग्रेस अब प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ । गत फागुन १२ गते काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर नयाँ समिकरण बनेको थियो । अन्ततः उक्त समिकरण एकाएक टुट्न पुग्यो । प्रधानमन्त्री दाहालले एमालेसहित अन्य दलहरुसँग सत्ता समीकरण बनाउन पुगेका छन् । राजनीतिमा अति ‘चलायमान’ प्रचण्डले कति बेला कोसँग सहमति गर्छन् भन्नै सकिदैन । त्यसैकारण पनि काँंग्रेससहितको गठबन्धन ५ वर्ष नै ढुक्कले जान्छ भन्नेमा पहिले नै आशंका थियो । नभन्दै प्रचण्डले काँग्रेससँगका विभिन्न कारण देखाउँदै देउवासँगको सम्बन्ध तोड्न पुगे । हुन त सम्बन्ध जोड्नु र तोड्नु नेपाली राजनीतिमा प्रचण्डको यो नौलो हैन । यस अघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध दुई महिनामै टुटेको थियो । बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ थिए । दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगे । तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो । त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो । तर, उक्त सहमतिविपरीत दाहालले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिए । बालकोटमा बनेको गठबन्धन तोडेर दाहालले फेरी गत फागुन १२ गते कांँग्रेससहितको सात दलको नयाँ समीकरण बनाए । दाहाल साढे २ वर्ष, डेढ वर्ष शेरबहादुर देउवा र माधवकुमार नेपाल एक वर्ष  प्रधानमन्त्री हुने गरी सहमति बनेको थियो । अन्नतः प्रचण्डले त्यो सहमति मात्र तोडेनन् ,गठबन्धन नै गल्र्यामै ढलाए । पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने दाहालको विशेषता नै बनेको छ । यद्यपी प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरूप काँग्रेसबाट सहयोग नभएका कारण गठबन्धन भत्किएको धेरैले आंकलन गरेका छन् । खासमा गठबन्धन के र कसका कारणले टुट्न पुग्यो भन्ने विषयमा यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ ।

      सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेसँगै राजनीतिक कोर्स नै परिवर्तन भएको छ । अहिले प्रचण्डले धोका दियो भनेर भनिँदैछ र काँग्रेसका  केही जिम्मेवार नेता आफ्ना कमीकमजोरी ढाकछोप गर्ने प्रयास गर्दै छन् ।  गठबन्धन सरकार सरकार टुुट्नुुको दोष कसको टाउकोमा थोपर्ने भन्ने प्रयासमा ताना–बाना बुनिँदैछ र एक अर्कामाथि दोषारोपणको प्रयास भइरहेको छ । कमीकमजोरी अरूका पनि होलान् तर यसको प्रमुख जिम्मेवारी सत्ता गठबन्धनमा रहेको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कै हो । यसको विश्लेषण निष्पक्ष र विस्तारमा गर्नु अति आवश्यक छ ।

पर्दाभित्र जे–जस्ता कारण भए पनि कांग्रेस र माओवादीबीच मुख्यगरी काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अन्तिमसम्म बोकेपछि सत्ता गठबन्धन ढलेको हो । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री महतसँग पहिलेदेखि नै असन्तुष्ट हुँदै आएका थिए । उनले मंसिरदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताउँदै आएका थिए । त्यतिबेला काँग्रेस सभापति देउवाले नै राष्ट्रिय सभाको निर्वाचनसम्म मन्त्रिमण्डल हेरफेर नगर्न भन्दै आएका थिए । त्यसपछि फेरि देउवाले काँग्रेस महासमिति बैठकसम्म कुर्न आग्रह गरेका थिए । एकातिर कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड राम्रो नहुनु र अर्कातिर प्रचण्डसँगै अर्थमन्त्रीको राम्रो सम्बन्ध नहुनाका कारणले पनि प्रचण्ड चिँढिदै आए । काँग्रेस महासमितिको बैंठक सकिएपछि पनि देउवाले अर्थमन्त्री महतलाई लगानी सम्मेलनसम्म काम गर्न दिन प्रचण्डसँग आग्रह गरेका थिए । देशको अर्थतन्त्रमा कुनै पनि सुधार हुन नसकेको अवस्थामा अर्थमन्त्री महतले सुधार भएको अभिव्यक्ति दिदै आउनु र परिणाम कुनै नदेखिएपछि प्रचण्ड पूरै मन्त्रीहरु परिवर्तन गर्ने दाउमा थिए । तर पनि देउवाले अन्तिम समयसम्म अर्थमन्त्री महतको काँध थापेपछि कांग्रेस नै गठबन्धनबाट टाढिन पुगेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । त्यति मात्र होइन राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढङ्गले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न बल पुगेको अनुमान गर्न सकिन्छ ।

अर्का तर्फ गठबन्धन तोड्न एमालेको भूमिका पनि महत्वपूर्ण छ । उसले विभिन्न अस्त्र प्रयोग गरेर भए पनि गठबन्धन फुुटाउने दाउमा थियो । अन्ततः एमाले गठबन्धन तोड्न सफल भएको छ । उसले निर्णायक अस्त्रको रूपमा राष्ट्रियसभा अध्यक्ष पदलाई लिएको थियो । कांग्रेस–माओवादीको गठबन्धन टुटाउन नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू केही समयदेखि माओवादी केन्द्रका नेताहरूसँग निरन्तर सम्वादमा रहेकका थिए । प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला दिनहरूमा बाक्लो भेटघाट  समेत भइरहेको थियो । कांग्रेस र माओवादीबीच दूरी बढिरहेको बेला एमालेले ढोक्सा थापेको हो । जसमा एमाले सफल भएरै छाडेको छ ।

वर्तमान सरकार भंग गरेर अरू पार्टीहरूबीच गठबन्धन गर्दा  त्यस सरकारले स्थायित्व पाउन सक्छ भनेर कसले कसरी प्रत्याभूति गर्न सक्छ ? जो–जो जहाँ–जहाँ बसेका भए पनि तिनले आ–आफ्ना ठाउँबाट इमानदारीता देखाउने हो भने कतै कुनै समस्या आउँदैनन् तर जहिल्यै सरकार नै चाहिने र आफूलाई अरूलाई भन्दा बढी चाहिने रोगले गर्दा समस्या पैदा भइरहेको छ । यसलाई घटाउने वा हटाउने प्रयास गर्ने हो भने पटक–पटक यस्तो समस्या आउँदैन ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update