Shittalpati
वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित

पाल्पा, यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलो पटक आइतबार विहानैदेखि पाल्पासहित देशका अधिकांस स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण  देशभर बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको  हो ।

बिहानैदेखि परेको वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु सकसमा परे । पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारण प्रभावित भए । स्कुल, क्याम्पस जाने र फर्किने क्रममा कतिपय छात्रछात्राहरु पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका थिए । वर्षाले कामकाजमा निस्केकाहरुलाई सकस भए पनि पाल्पा र गुल्मीका किसानहरु भने हर्षित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान हिउँद सकिनै लाग्दा परेको पानीले भने हर्षित भएका हुन् । यो समयमा परेको पानीले मकै  छरेका र छर्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । खेतमा छरेका मकै र बारीमा छर्ने तयारी गरिरहेका किसानलाई ठूलो राहत पुगेको किसानहरु बताउँछन् । हिउँदे तरकारी र मकैलाई अहिलेको वर्षाले निकै फाइदा पुगेको छ । अहिले गुल्मी र पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँहरुमा गहुँ, स्याहारेर मकै छर्ने तयारीमा किसान छन् । ‘बारीमा मकै छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौं, पानी परेकाले अब छर्ने तयारी गर्दछौं’ रिब्दीकोट गाउँपालिकाकी शर्मिता थापाले भनिन् । हिउँदे वर्षाले सुख्खा रहेका खेतबारी अहिले चिस्यान भएको उनले बताइन् । थापाले बारीमा लगाएको तरकारीलाई अहिलेको वर्षाले राहत मिलेकोमा खुसी व्यक्त गरिन् । हिउँदमा लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका तरकारी समेत फस्टाउन पाएका थिएनन् अब फस्टाउनेमा उनी आशावादी छन् । उता गुल्मीका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् ।

‘हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, जौ लगायतका हिउँदेबाली, तरकारी र फलफूलहरू खेतवारीमा नै सुक्न लागेका थिए’ इस्मा गाउँपालिका–२  रातडाँडाकी किसान कमला मल्लले भनिन्, ‘यो हिउँद सकिन लाग्दा बल्ल पहिलोपटक पानी पर्‍यो, औधी खुसी छौँ ।’ अहिले बारीमा मकै छर्ने बेला भएकाले पानीले ठूलो राहत दिएको पनि उनले बताइन् । खेतमा मकै छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update