Shittalpati
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ

पाल्पा, नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट रहेको बताएका छन् । शनिबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले महासमिति बैंठकको दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय साइलेन्ट रहेको बताएका हुन् ।

उपसभापति गुरुङले भने‘ महासमिति बैंठकमा गठबन्धनका बारेमा चर्चापरिचर्चा भयो, वास्तवमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय त्यहाँ साइलेन्ट छ, एकदम स्पष्ट भाषामा भन्नुपर्छ, हाम्रो दस्ताबेजमा गठबन्धन गर्ने पनि भन्या छैन, नगर्ने पनि भन्या छैन् । तर कागले कान लग्यो भनेपछि कान नछामिकन दौडिने भन्ने हाम्रो कथन छनि हो, महासमिति बैंठक पनि त्यस्तै त्यस्तै भो कि जस्तो लाग्यो ।’ कान छाम्नु छैन, दस्ताबेज पनि ठूलो – ठूलो भयो, त्यो दस्ताबेज पढ्नु भन्दा क–कसले के – के भनेका छन् , त्यसैको पछि लागेर साथीहरुले भाषण गर्ने गरेको उनले उल्लेख गरे । ‘महासमिति साथीहरुले कसैले गठबन्धन गर्न हुँदैन, यो रणनीतिक विषय हो अहिले नै किन चर्चा गर्ने भनेका छन्, कसैले हैन गठबन्धन गर्नु हुन्न एक्लै चुनाव लड्नुपर्छ भनेका छन् । वास्तवमा केन्द्रीय पदाधिकारीहरु बसी छलफल गरेर अहिले नै गठबन्धन गरेर जाने , नजाने भन्ने विषय दस्ताबेजमा उल्लेख गरिएको छैन, चर्चा मात्र भएको हो’ उपसभापति गुरुङले भने । उनले गठबन्धन रणनीतिक कुरा मात्र भएको तर नीतिगत नभएको स्पष्ट पारे ।  गुरुङले गठबन्धन पुरै अवधि रहेर जाने समेत बताए । उनले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै भएको बताउदै गठबन्धन अझै बलियो भएर जाने  धारणा व्यक्त गरे । मन्त्री गुरुङले भने “एउटा सुशासन स्थापना गर्न लागिपरेको सरकारविरुद्धमा फेरि अर्को गठबन्धन बन्छ भन्ने मलाई लाग्दैन । केही आशङ्काहरू होलान् तथापि त्यस्तो हुन सक्दैन ।” उनले मन्त्रीहरु भने फेरिन सक्ने बताए । मन्त्री पद स्थायीत्व नभएकाले जुनसुकै बेला फेरिन सक्ने गुरुङको भनाई छ ।

20240302_1306561709378658.jpg

कानुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका गुरुङले आफु जिम्मेवारीमा रहुन्जेल बढी भन्दा बढी आवश्यक कानुन कसरी बनाउने भन्ने विषयमा केन्द्रीत रहेको बताए । उनले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ् गरी करको दायरामा ल्याई विदेशी रक्सी बन्द गर्ने गरी उद्योग मन्त्रालयलाई मस्यौदा बनाएर पठाए पनि त्यो अगाडि नबढेको बताए । मन्त्री गुरुङले स्थानीय मदिराको प्रवद्र्धन गरी विदेशी मदिरा बन्द गर्ने गरी कानुन ल्याउन प्रयास गरेको धारण व्यक्त गरे ।  उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने समेत बताए । मन्त्री गुरुङले संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दै सहमतिमै टुंगोमा पुग्ने धारणा व्यक्त गरे ।

20240302_1306491709378723.jpg

कार्यक्रममा पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आ–आफ्ना संस्था र संगठनका बारेमा समस्या, जिज्ञासा र सुझाव राखेका थिए । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मन गहिरे, नेपाल ट्रेड  युनियन काँग्रेसका  कार्यवाहक जिल्ला सभापति सुनिल बूूढाथोकी, भूपूू सैनिक संघका जिल्ला अध्यक्ष विष्णु गाहा, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तम कुमार बज्राचार्य, निजामती कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष विनोद घिमिरे, प्रजातान्त्रिक प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष जीवन थापा,  नेपाल तरुण दलका जिल्ला सभापति मेजर सिं केसी, नागरिक समाजका अगुवा सूर्यबहादुर बोहोरा,  अमर नारायण गुठीका दया पाण्डे लगायतले मन्त्री गुरुङ समक्ष आ–आफ्ना संस्थाका समस्या, सुझाव र जिज्ञासा राखेका थिए ।  काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सुनिता अधिकारीको स्वागत, अर्का सचिव सन्तोष थापा मागरको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update