Shittalpati
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला

पाल्पा, दैनिक दिउँसोमा चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि खुला गरिएको छ । पहाड काट्ने काम लगभग सकिएकाले चौविसै घण्टा बाटो खुला गरिएको हो ।

सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले दैनिक चार घण्टा सवारी बन्द गरी काम गरिदै आइएको थियो । पहाड काट्ने काम लगभग सकिएकाले बाटो बन्द नगर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले जनाएको छ । आयोजनाका अनुसार पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी रहेको र अब गाडी बन्द गरिरहनुपर्ने अवस्था नरहेको जनाएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको थिएन । तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्ने छ । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएपछि पटक पटक बाटो बन्द गरेर काम थालिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update