Shittalpati
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माण धमाधम हुन थालेपछि कामले गति लिएको हो । 

निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले मंगलबार सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार १० दशमलव ४५ प्रतिशत काम सकिएको छ । जसमध्ये ६.४ प्रतिशतमा डिजाइन, विस्तृत अध्ययन, रूखकटान, ल्याब तथा पावार सप्लाइ र ४.०५ प्रतिशत प्रगति भने संरचनामा भएको देखिन्छ । आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले कामले अहिले तिव्रता पाएको बताईन् । उनका अनुसार सुरुवातमा केही सुस्त भए पनि अहिले कामले गति लिएको हो । साउथ पोर्टलतर्फ उत्खननको काम १९ दशमलव ७ मिटर सकिएको इन्जिनियर ज्ञवालीले बताईन् । उनका अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल पहिलो ५.८ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन् भइसकेको छ । स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ । आयोजनाको काम गत वर्षदेखि शुरू भए पनि वर्षातका बेला पहिरो झरेर ‘टनेल’ निर्माण क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । शुरूका दिनमा कतिपय क्षेत्रमा पर्ने रूखहरू काट्ने अनुमति नपाए पनि अहिले सबै रूख काटेपछि कामले गति लिएको इन्जिनियर ज्ञवालीले बताइन् । सुरुङको दुवैतर्फबाट निर्माण भइरहेको छ । ‘अहिले दुवैतर्फबाट कामले तिव्रता पाएको छ,’ उनले भनिन्,‘मन्दिरतर्फबाट साउथ पोर्टको काम भइरहेको छ । अहिले झण्डै १०० मजदुरले काम गरिराखेका छन् ।’ आउँदो वर्षायाममा टनेलभित्र छिरेर काम गर्न सक्नेगरी कामले गति लिएको आयोजनाले जनाएको छ ।

पटक–पटक राजमार्गमा आवागमन बन्द गरे काम गरे पनि लामो समय हुँदा समेत कामले गति लिन नसकेपछि ठिक दुई महिना अघि विभिन्न सञ्चार माध्यममा सुस्त गतिमा  ‘सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य भन्ने समाचार प्रकाशन भएका थिए । सो समाचार प्रकाशन भएको केही समयपछि संघीय सरकारको ध्यानाकर्षण भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समेत निर्माण कार्यको स्थलगत निरीक्षण गरी सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका थिए । चौतर्फी दवाबपछि निर्माण व्यवसायीले अहिले कामलाई तिव्रता दिएको हो । केही दिनयता अन्य काम सकेर मुख्य सुरु·को टनेल खन्ने काम भइरहेको छ । बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउन लागिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०७८ फागुन १ मा ठेक्का पाएको हो ।

गत साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तीनमहिना बढी समय रोकिएको सुरुङमार्ग निर्माणको काम दशैँपछि मात्रै सुरु गरिएको हो । सुरुङमार्ग निमार्णका लागि पटक–पटक सडक बन्द गरेर काम हुँदै आएको छ । यही माघको पहिलो सातादेखि मात्र सुरुङमार्गको मुख्य सुरुङ खन्न सुरु भएको हो । निर्माण कार्यको सन् २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौता रहेको छ । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका स्थानीयहरू सुरुङमार्गको कामले गति लिन थालेपछि  भने वर्षौदेखि सुरुङबन्ने सपना पुरा हुनेमा ढुक्क भएका छन् । तानसेनकी शान्ता ढकालले सुरुङमार्ग निर्माणको कामले ढिलै भएपनि गति लिन थालेको कुराले खुशी तुल्याएको बताइन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याउने गर्दछ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update