Shittalpati
पाल्पामा जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न सांसद राना सहित काँग्रेस नेताहरु अस्पतालमा

पाल्पा, लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना मंगलबार  पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा भएको जिप दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । उनी घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।

अस्पतालमा घाइतेहरुलाई भेटेर सांसद रानाले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् । सांसद रानाले उपचाररत घाइतेहरुको सहयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने र समन्वयकारी भूमिका खेल्ने समेत बताए ।

 रानासँगै काँग्रेस नेताहरु अस्पताल पुगेका छन् । नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरे, पार्टी सचिव सुनिता अधिकारी, कोषाध्यक्ष मोहन श्रेष्ठ, काँग्रेस  पाल्पा क्षेत्र नं २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, तानसेन –७ का वडा अध्यक्ष प्रदिप खनाल,  युवा नेताहरु सुरेश बोहोरा, गिरीजा गैरे, दीपक कार्की  लगायतका नेताहरु अस्पताल पुगेर घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ, भने १८ जना घाइते रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update