Shittalpati
पाल्पामा जिप दुर्घटना : मृतको संख्या १० पुग्यो, घाइते १८ (अपडेट)

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।  सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

घाइतेहरुको अवस्था बुझ्न लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेका नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेका अनुसार दुई जनाको अस्पतालमा ल्याउदै गर्दा र अन्य ८ जनाको घटनास्थलमै ज्यान गएको छ । 

मृतक  मध्ये ६ जनाको सनाखत भएको छ भने अन्यको हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार तिनाउ  गाउँपालिका– ६ मस्यामकी ६० वर्षीया ऐन कुमारी पन्त, सोही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उहाँको श्रीमति ६० वर्षीय चुना रणपालको सनाखत भएको हो । अन्य मृतकहरु बाहिरका भएकाले सनाखत हुन केही ढिलाई भएको डिएसपी श्रेष्ठले बताए । घटनामा घाइते  हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको एसपी हेरम्वर शर्माले बताए । प्रहरी र स्थानीयको सहयोगमा  घाइतेहरुको उद्दार गरिएको थियो । उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update