Shittalpati
जनताका समस्या र गुनासा सुन्दै समुुदायमा काँग्रेस

पाल्पा, सत्तारुढ दल नेपाली काँग्रेस यति बेला समुदायमा व्यस्त छ । काँग्रेस नेताहरु गाउँ–गाउँमा पुगेर जनताका अपेक्षा, सुझाव, गुनासा, समस्या सुन्ने/बुझ्ने काममा दिनहुँ व्यस्त रहेका हुन् । राष्ट्रिय अभियान अन्तर्गत देशभर नै काँग्रेस नेताहरु समुदायमा पुगेका छन् । यस अघि आन्तरिक राष्ट्रिय अभियान चलाएको काँग्रेस अहिले आफ्नो जनाधार नखस्कियोस् भन्ने उद्देश्य अनुरूप ‘समुदायमा काँग्रेस’ अभियान लिएर माघ १३ देखि समुदायमा पुगेको हो ।

नेपाली काँग्रेस पाल्पाले पनि माघ १६ गतेदेखि तानसेन नगरपालिका –६ गन्धर्व टोलबाट अभियानको थालनी गरेको थियो । केन्द्रिय सुपरीवेक्षकका रुपमा खटिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डा.डिला संग्रौला, अब्दुल रजाक लगायतका नेताहरुले पाल्पाको अभियान शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भ भएसँगै काँग्रेसका नेताहरु अहिले समुदायमै व्यस्त देखिन्छन् । पाल्पा काँग्रेसले १० वटा पालिकाका ८१ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । पार्टीको केन्द्रीय परिपत्र अनुसार समुदायमा काँग्रेस अभियानका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव सन्तोष थापा मगरले बताए । काँग्रेसले वडामा प्रतिनिधिका रुपमा जिल्लाका पदाधिकारी, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई खटाएको सचिव थापाले एनजेडीसँगको कुराकानीमा बताए । उनले भने ‘वडामा गएका प्रतिनिधिले वडा तहमा रहेका जनताको समस्या, समाधानको उपाय, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका कार्यकर्ताबिचमा रहेका मतभेद, कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइ लगायतका समस्या समाधानका लागि पहल गर्ने काम गरिरहेका छन् ।’

काँग्रेसले भाषणलाई निरुत्साहित गर्दै जनताका कुराहरुलाई मात्र अभियानको प्राथामिकतामा राखेको छ । राजनीतिक दलहरुप्रति जनताको वितृष्ण पैदा भइरहेका बेला काँग्रेसले नेताका भाषाण नभई जनताका कुरा सुन्ने गरेकाले पनि यस पटकको अभियानमा जनताहरु उत्साहित हुँदै सहभागी भएका छन् । नेताहरुसँग जनताले निर्धक्कसँग आफ्ना गुनासा, समस्या राख्ने गरेको अभियानको निरिक्षण गर्न समुदायमा पुगेका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । उनले भने ‘यति बेला जनताहरु आफ्ना गुनासा, समस्या राख्न उत्साहित भएर आउनुभएको छ, हामी उहाँहरुका कुराहरु सुनिरहेका छौं र टिपोट गरेर तत्काल समाधान गर्न मिल्ने समस्या त्यहीबाटै समाधान समेत गर्ने गरेका छौं ।’ सभापति श्रेष्ठले ‘समुदायमा कांग्रेस’ अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताए । यस अभियानबाट जागरण र परिवर्तन आउनेमा उनले विश्वास व्यक्त गरे । उनले काँग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे । सभापति श्रेष्ठले अन्य दलले निर्वाचनलाई मिसन बनाउँदा यो हविगत भएको स्मरण गर्दै नेपाली काँग्रेसले अद्यावधिक निर्वाचनलाई मिसन नबनाई जनताका माग र समस्यालाई मिसन बनाएको जिकिर गरे । पार्टीको लागि आएका राय सुझाव आगामी फागुन ७ गतेदेखि हुने नीति महाधिवेशनमा प्रस्तुत गरिने समेत उनले बताए । अभियान अन्तर्गत काँग्रेस आगालागी पिडितदेखि कसैको निधन हुँदा दुखमा सामेल हुन समेत गाउँ गाउँमा पुग्ने गरेको छ ।  

उता गुल्मी काँग्रेसले पनि माघ १७ गतेदेखि अभियानको थालनी  गरेको  छ । ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा, सक्षम टोल’ भन्ने अभियानलाई निरन्तरता दिदै आएको काँग्रेसले देशव्यापी रुपमा सञ्चालनमा आएको ‘समुदायमा काँग्रेस’ अभियानलाई  जिल्लाका सबै वडा, टोलमा  प्रतिनिधिमार्फत पु¥याएको छ । जिल्लाका प्राध्यापक, शिक्षक र दलित समुदायमा पुगेर उनीहरुसँग राय, सल्लाह लिदै अभियानको शुभारम्भ गरेको काँग्रेस नेताहरु यति बेला जनताका कुरा सुन्न समुदायमा व्यस्त छन् । खुला छलफल, समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन वडा कार्यालय भ्रमण र संवादका कार्यलाई तिव्रताका साथ अगाडि बढाइएको जिल्ला सचिव जगदीश भट्टराईले बताए । समुदाय र स्थानीय जनताको अपेक्षा, सुझाव तथा चासो सुन्न  नेताहरु वडा वडामा व्यस्त रहेका उनले बताए । सचिव भट्टराईले भने ‘सेवा प्रवाह, विकास निर्माणको स्तर, समुदायमा भइरहेको वास्तविक अभ्यासलाई अवलोकन गर्ने, जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न तत्काल कदम चाल्ने र नीति निर्माणका क्रममा महासमिति बैठकलगायतलाई निर्देशन दिइने अभियानको उद्देश्य हो ।’

तीनै तहका सरकारसँग जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने/बुझ्ने, जनताबाट प्राप्त सुझावलाई तत्तत् तहका सरकारमा पुर्‍याउने, सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीको तर्फबाट समाधानका लागि पहलकदमी लिने लगायतका उद्धेश्य अभियानको रहेको छ । केन्द्रबाट खटिएका प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र अभ्यासको अवलोकन गर्ने गरेका छन् । जनताबाट आएका सल्लाह, सुझाव, गुनासाहरू सुन्ने, पार्टीले गरेका प्रयास र उपलब्धि बताउने, भ्रमहरू चिर्ने काँग्रेसले अभियानबाट अपेक्षा राखेको छ । सुशील कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते अभियान सकिने छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update