Shittalpati
लुम्बिनीमा विषयगत समितिको नेतृत्व चयन लागि गठबन्धनमा कुनै समस्या छैन  ः सभापति पुन

पाल्पा, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा विषयगत समितिको नेतृत्व चयनका लागि गठबन्धन दलमा कुनै पनि समस्या नभएको बताएका छन् । आइतबार पाल्पाको तानसेनमा नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले गठबन्धनमा विषयगत समितिको नेतृत्वका लागि भागबण्डा मिलिसकेकाले कुनै समस्या नरहेको बताएका हुन् । 

गठबन्धन दल भित्रै भागबण्डा नमिलेका कारण विषयगत समितिको नेतृत्व चयनमा ढिलाई भएको भन्ने पत्रकारको जिज्ञासामा सभापति पुनले गठबन्धनबाट भागबण्डाको टुँगो लागिसकेको तर मुख्यमन्त्री डिल्ली चौधरीबाट केही ढिलाई भएको स्पष्ट पारे । उनले भने ‘ दलहरुबाट भाग बण्डा टुँगो लागि सकेको छ, मुख्यमन्त्रीलाई छिटो टुँगाएर प्रदेशको काम कारवाही अगाडि बढाउन भनेका छौं ।’ मुख्यमन्त्रीले अब केही दिनमै यसको टुँगो लगाउने सभापति पुनले बताए ।

उनले सरकारमा जाने पार्टीका साथीहरु गम्भीर नबन्दा प्रदेश सरकार विस्तारमा केही ढिलाई हुन गएको समेत बताए । सभापति पुनले भने ‘सरकारमा गएका साथीहरु अलिकति गम्भीर भएर प्रस्तुत नहुँदा प्रदेश सरकार प्रदेश जस्तो हुन सकेको छैन् ।’ उनले अब काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको काम कारवाहीलाई चुस्त, प्रभावकारी बनाउन लुम्बिनी काँग्रेसले १ सय ९ वटै पालिकामा प्रतिनिधि खटाएर कामको निरीक्षण गर्न थालेको समेत बताए । उनले  भने ‘३ महिलासम्म वडा, पालिकाहरुमा पुगेर जनप्रतिनिधिहरुले गरेका कामहरुको अनुगमन गर्ने र जनताप्रति उत्तरदायी बनाउने दिशामा लुम्बिनी काँग्रेसले काम थालेको छ ।’ सभापति पुन भोली सोमार रामपुरमा हुने पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पाल्पा आएका हुन् । 

सोही अवसरमा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले माघ १६ गतेदेखि पाल्पाका ८१ वटै वडामा पुगेर काँग्रेसले छलफल र बैंठक चलाउन लागेको बताए । उनले समुदायमा काँग्रेस अभियान अन्तर्गत नेताका भाषण नभई जनताको गुनासा र कुराहरु सुन्ने  बताए । सभापति श्रेष्ठले भने‘ हामी वडा–वडामा पुगेर विभिन्न उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिका साथीहरुसँग बसेर जनताका गुनासा, समस्याहरुको सम्बोधन गर्न छलफल चलाउने छौं ।’  प्रेस युनियन पाल्पा शाखाकी अध्ययक्ष मन गहिरेको अध्यक्षतामा भेटघाट कार्यक्रम भएको थियो ।

 
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update